रोपेका बिरुवा जोगाउन सामुदायिक बन बाँकेमा तारजाली – Buletnews
हरियाली प्रबर्द्धन
रोपेका बिरुवा जोगाउन सामुदायिक बन बाँकेमा तारजाली

बिरुवाको बाँच्ने दर वृद्धि हुनुका साथै भविष्यमा हरियाली विस्तार र जैविक विविधता संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा

  • बुलेट न्युज

बाँके: वन कार्यालय बाँकेअन्तर्गत रहेका विभिन्न वन क्षेत्रमा रोपिएका बिरुवालाई चौपाया तथा वन्यजन्तुबाट जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार गरिएको छ ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख सिनियर डिभिजनल वन अधिकृत शङ्कर गुप्ताले गत आर्थिक वर्ष २०८२/८३ मा विभिन्न सामुदायिक तथा सरकारी व्यवस्थापनमा रहेका वन क्षेत्रमा २० किलोमिटरभन्दा बढी फेन्सिङ (तारजाली घेराबार) निर्माण गरिएको जानकारी दिए । उनले घेराबारपछि नवरोपित बिरुवाको संरक्षणमा टेवा पुग्नुका साथै वन पुनःस्थापना कार्यक्रम प्रभावकारी हुने बताए।

उनका अनुसार तारजाली निर्माण गरिएका जिल्लाका १९ स्थानमा कुल २३९.१९ हेक्टर क्षेत्रफलमा वृक्षारोपण तथा वन पुनरुत्पादन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएका छन् । तीमध्ये केही क्षेत्रमा नयाँ वृक्षारोपण गरिएको छ भने अधिकांश क्षेत्रमा प्राकृतिक पुनरुत्पादनलाई प्रोत्साहन गर्ने काम भइरहेको छ ।

उनका अनुसार नरैनापुर गणपति सामुदायिक वन उपभोक्ता समूह (सावउस) को १० हेक्टर, पशुपतिनगर सावउसको ६.६३ हेक्टर, रानी सावउसको ५.५६ हेक्टर, विन्ध्यवासिनी सावउसको १५ हेक्टर, सदाबहार सावउसको आठ हेक्टर, जनप्रतिभा सावउसको छ हेक्टर, हरलाफाँटा सावउसको पाँच हेक्टर, कुसुम्या सावउसको १० हेक्टर, रामजानकी सावउसको सात हेक्टर र मितेरी सावउसको १५ हेक्टर क्षेत्रफलमा तारजाली घेराबार निर्माण गरिएको हो ।

त्यसैगरी कन्याश्वरी सावउसको १८ हेक्टर, छग्राहवा सावउसको तीन हेक्टर, सिद्धबाबा सावउसको ७.५ हेक्टर, सरकारद्वारा व्यवस्थित शमशेरगन्ज माथेवास चक्ला वनको ४५ हेक्टर, सरकारद्वारा व्यवस्थित भुवरभवानी चक्ला वनको ३० हेक्टर, खजुरा गाउँपालिकास्थित सार्वजनिक जग्गाको ०.६८ हेक्टर, कम्दी चेकपोस्ट राष्ट्रिय वनको ०.५ हेक्टर, ज्योति सावउसको ३५ हेक्टर र सृष्टि सावउसको १० हेक्टर क्षेत्रफलमा तारजाली घेराबार गरिएको छ ।

डिभिजन वन कार्यालयका अनुसार बिरुवा रोपेर मात्र वन संरक्षण सम्भव नहुने भएकाले संरक्षणलाई प्राथमिकतामा राख्दै तारजाली घेराबार गरिएको हो । यसबाट बिरुवाको बाँच्ने दर वृद्धि हुनुका साथै भविष्यमा हरियाली विस्तार र जैविक विविधता संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्