भरतपुर, चितवन: चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा केन्द्रीय सदस्य पदका उम्मेदवार भरत प्रसाद पनेरू को पक्षमा माहौल बन्दै गएको देखिएको छ। देशभरका ७७ जिल्लाबाट आएका प्रतिनिधिहरूबीच पनेरूको उम्मेदवारीले विशेष चर्चा पाउन थालेको समर्थकहरूले बताएका छन्।
रास्वपाको स्थापना कालदेखि नै सक्रिय रहँदै आएका पनेरूलाई लुम्बिनी प्रदेशमा विधि, निष्ठा र संगठनात्मक मूल्यमान्यताको पक्षमा निरन्तर आवाज उठाउने नेताका रूपमा चिनिन्छ। उनी कुनै गुट वा समूहको प्रभावभन्दा माथि उठेर पार्टीलाई नीति, विधि र प्रणालीका आधारमा अघि बढाउनुपर्ने पक्षमा दृढ रहेको कार्यकर्ताहरूको भनाइ छ।
सहकर्मीहरूलाई निषेध गर्नेभन्दा पनि सबैलाई समेट्दै सहकार्यको वातावरण निर्माण गर्ने उनको शैलीका कारण लुम्बिनी प्रदेशका कार्यकर्तामाझ उनको छुट्टै पहिचान बनेको बताइन्छ। समर्थकहरूका अनुसार पनेरूले पार्टीभित्र एकता, सहअस्तित्व र संस्थागत विकासलाई प्राथमिकतामा राख्दै आएका छन्।
शैक्षिक रूपमा पनि पनेरूलाई सक्षम उम्मेदवारका रूपमा हेरिएको छ। उनले समाजशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् भने ग्रामीण विकास विषयमा अध्ययनरत छन्। साथै मानविकी, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन र विज्ञान विषयमा स्नातक तहको अध्ययन पूरा गरेका छन्।
समर्थकहरूले उनको उम्मेदवारीलाई विधिको शासनप्रतिको प्रतिबद्धता, उच्च शैक्षिक योग्यता, समावेशी सोच र शालीन नेतृत्व क्षमतासँग जोडेर प्रचार गरिरहेका छन्। उनी व्यक्तिकेन्द्रित राजनीति भन्दा नीति र प्रणालीमा आधारित संगठन निर्माण गर्न सक्ने नेताका रूपमा प्रस्तुत गरिएका छन्।
महाधिवेशनस्थलमा “लुम्बिनीको आवाज, विधिको वकालत केन्द्रीय सदस्यमा भरत प्रसाद पनेरू” भन्ने नारासहित उनको पक्षमा समर्थन बढिरहेको समर्थकहरूको दाबी छ। रास्वपाको नयाँ नेतृत्व चयन प्रक्रियामा पनेरूको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।











