बाँके: लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादवले नेपालगन्जमा रहेको खेलकुदका संरचनाहरूको स्थलगत निरीक्षण गरेका छन ।
मन्त्री यादवले साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अन्तर्गतको नेपालगन्ज रङ्गशाला परिसरमा रहेका, रङ्गशाला, पौडी पोखरी, कवर्ड हल, सुटिङ रेन्ज लगायतका खेलकुदका संरचनाको निरीक्षण तथा अनुगमन गरेका हुन ।
सो क्रममा मन्त्री यादवले बाँकेको खेल क्षेत्रको विकास र संरक्षणका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले यसका लागि आफ्नो संसदीय कोषबाट मात्र नभई खेलकुद मन्त्रालय र प्रदेश सरकारसँग समेत कुरा गर्ने बताए।
समितिका कार्यालय प्रमुख महेश चन्दले संरचनाहरुको संरक्षण, खेलकुदको अवस्था, समस्या र सम्भावनाबारेमा मन्त्रीलाई जानकारी गराएका थिर । त्यसैगरी समितिका प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी सोनुले खेलकुद क्षेत्र, स्थानीय पालिका तथा प्रदेश सरकारबिच सही समन्वय हुन नसक्दा खेलकुदले गति लिन नसकेको जानकारी गराए ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य नरेन्द्र थापाले खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन गर्न खेलाडी प्रतिभा खोज अभियान, प्रतियोगिताको निरन्तर आयोजना, खेल सामग्रीको व्यवस्थापन गर्न प्रदेश सरकारसँग पहल गरिदिन मन्त्री यादवलाई आग्रह गरे ।
आठौं राष्ट्रिय खेलकुदका लागि नेपालगन्जमा निर्माण गरिएका खेल संरचनाहरूको संरक्षण र रेखदेख तथा ती संरचनाको निरन्तर उपयोगमा स्थानीय खेलाडी तथा खेलप्रेमीहरूले जोड दिँदै आएका छन् ।











