बाँके: असार महिनाको दोस्रो साता पुगिसक्दा पनि वर्षा नहुँदा खडेरीले नेपालगन्जका अधिकांश खेतमा चिरा पर्न थालेको छ। सुख्खाका कारण हालसम्म नेपालगन्ज उपमहानगरपालिकामा रोपाइ सुरु नै हुन सकेको छैन ।
असार १५ गते सोमबार धान दिवस मनाइने भए पनि पानी नपरेकोले नेपालगन्ज उपमहानगर भित्र अझैसम्म ब्याड नै राख्न नपाएकोले रोपाइ शून्य रहेको उपमहानगरको कृषि महाशाखाले जनाएको छ ।
नेपालगन्ज उपमहानगरको कृषि महाशाखाका प्रमुख अम्बिका रिजालले धान दिवस मनाउने दिन आइसक्दा पनि वर्षा नहुँदा नेपालगन्जका अधिकांश खेत खडेरीले सुख्खा भएर चिरा पर्न थालेको बताईन।
उनले बोरिङ र मोटर सुविधा भएका केही किसानले व्याड सम्म राख्न भ्याए पनि अधिकांश किसानले खेतबारीमा केही पनि गर्न नसकेको बताईन । आइतबार बिहान हल्का पानी परे पनि सो पानी पर्याप्त नहुँदा किसान समस्यामा परेको कृषि महाशाखा प्रमुख रिजालले बताईन।
उनका अनुसार नेपालगन्ज १२ मा सोमबार मनाइने धान दिवस पनि मोटरबाट पानी तानेर मनाइने छ ।असारको आधा महिना बित्न लागि सक्दा पनि वर्षा नहुँदा रोपाइ प्रभावित हुनुका साथै खेतहरू सुकेर चिरा पर्न थालेको नेपालगन्ज १८ कारकाँदोको स्थानीय चेत शर्माले बताए।
उनले छिटै पर्याप्त वर्षा नभए नेपालगन्ज लगायत बाँकेमा सुख्खा पर्ने तथा उत्पादन निकै कम हुने चिन्ता पनि बढ्दै गएको बताए ।
आकाशे पानीको भरमा धानखेती गर्दै आएका नेपालगन्ज लगायत बाँके जिल्लाका अधिकांश किसानले पानीको अभावमा हालसम्म रोपाइ सुरु गर्न नसक्दा चिन्ता बढ्दै गएको जनाएका छन् ।
सिक्टा सिँचाइको नहर बगेको क्षेत्रका किसानले मात्रै राम्रोसँग ब्याड राख्नुका साथै रोपाइ समेत सुरु गरिसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
सिक्टा सिँचाइ आयोजनाले जिल्लाको २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ ।











