राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, पहिलो सेवा वलीलाई – Buletnews
राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, पहिलो सेवा वलीलाई

स्थानीय तहमै जग्गा प्रशासन सेवा उपलब्ध भएपछि नागरिकलाई सहजता

  • बुलेट न्युज

राप्ती सोनारी, बाँके:  राप्ती सोनारी गाउँपालिकामा भूमि प्रशासन कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिकाको पहल तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग र भूमि प्रशासन कार्यालय, कोहलपुरको समन्वयमा कार्यालय सञ्चालनमा ल्याइएको हो।

कार्यालय सञ्चालनको पहिलो दिन राप्ती सोनारी गाउँपालिका–९ निवासी रोशनकुमार वलीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि प्रदान गर्दै सेवाको शुभारम्भ गरिएको थियो। कार्यालय सञ्चालनसँगै अब राप्ती सोनारी गाउँपालिकाका नागरिकले जग्गा दर्ता, नामसारी, अभिलेख व्यवस्थापनलगायत भूमि प्रशासनसम्बन्धी विभिन्न सेवा आफ्नै पालिकाबाट प्राप्त गर्न सक्ने भएका छन्। यसबाट सेवाग्राहीको समय, खर्च तथा झन्झटमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।

कार्यालय उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, भूमि प्रशासन कार्यालय कोहलपुरका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले भूमि प्रशासन कार्यालयको स्थापना राप्ती सोनारीवासीका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले अब सामान्य भूमि सम्बन्धी सेवाका लागि नागरिकले टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्दै स्थानीय तहमै छिटो, सहज र पारदर्शी सेवा प्रवाह गर्ने गाउँपालिकाको प्रतिबद्धता दोहोर्याए।

उनले भने, “भूमि प्रशासन कार्यालय सञ्चालनमा आउनु राप्ती सोनारीवासीका लागि महत्वपूर्ण उपलब्धि हो। अब नागरिकले भूमि सम्बन्धी सेवा आफ्नै पालिकाबाट सहज रूपमा प्राप्त गर्नेछन्, जसले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछ।”

कार्यक्रममा सहभागीहरूले स्थानीय तहमै भूमि प्रशासन सेवा उपलब्ध हुनु नागरिकमैत्री शासन प्रणाली र प्रभावकारी सार्वजनिक सेवा प्रवाहतर्फको महत्वपूर्ण कदम भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्