बाँकेमा हालसम्म ४४ प्रतिशत रोपाई – Buletnews
बाँकेमा हालसम्म ४४ प्रतिशत रोपाई

पछिल्ला दिनमा भएको वर्षा र सिक्टा सिँचाइ आयोजनाको पानीका कारण रोपाइँले गति लिंदै

  • बुलेट न्युज

बाँके: बाँके जिल्लामा हालसम्म ४४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। गत वर्ष यही अवधिसम्म जिल्लामा ६० प्रतिशत रोपाइँ भइसकेको थियो।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार पछिल्ला दिनमा भएको वर्षा र सिक्टा सिँचाइ आयोजनाको पानीका कारण रोपाइँले गति लिएको हो।

उहाँले असार १५ गते धान दिवस मनाउँदा जिल्लामा ०.५ प्रतिशत मात्र रोपाइँ भएको भए पनि पछिल्लो १० दिनमा तीव्र रूपमा रोपाइँ भएको बताएका छन।

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा धान खेती हुने ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये हालसम्म १४ हजार ८६३.२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।

जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा धान रोपाइँ भएको छ। यस वर्ष समयमै वर्षा नहुँदा नेपालगन्ज उपमहानगरपालिका र खजुरा क्षेत्रमा भने रोपाइँ कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

पानीको अभावका कारण असार दोस्रो सातादेखि सुरु भएको रोपाइँ अझै विभिन्न स्थानमा जारी छ। रोपाइँ भएका अधिकांश क्षेत्रमा किसानले सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरेको केन्द्रले जनाएको छ।

समयमै वर्षा नहुँदा मसिनो र मध्यम जातका धान खेती गर्ने किसानलाई समस्या भए पनि मोटो धान खेती गर्ने किसानलाई ढिलो वर्षाले खासै असर नपर्ने सूचना अधिकारी शर्माले बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा अधिकांश किसानले राधा–४ लगायतका मोटो धान र केही भारतीय हाइब्रिड जातका धान लगाउँदै आएका छन्। जिल्लाको कुल ५५ हजार ८२६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये ३३ हजार ७८० हेक्टरमा धान खेती हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्