बैजनाथ, बाँके:प्राकृतिक सौन्दर्यले भरिएको बैजनाथ–३ स्थित सुतैया तालको शान्त वातावरण बुधबार हरियाली र सामाजिक सेवाको सन्देशले अझ जीवन्त बन्यो। तालको किनारमा नयाँ बिरुवा रोपिँदा वातावरण संरक्षणको प्रतिबद्धता झल्कियो भने सहकारीका शेयर सदस्यका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिँदा शिक्षाप्रतिको उत्तरदायित्व पनि उजागर भयो।
बैजनाथ गाउँपालिका–४ मा रहेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुतैया ताल आसपास वृक्षारोपण गर्नुका साथै शेयर सदस्यका सन्ततीलाई छात्रवृत्ति वितरण गरेको हो।

कार्यक्रमका क्रममा ताल वरपर समी, गुलमोहरलगायत डेढ दर्जनभन्दा बढी बिरुवा रोपिएको छ। रोपिएका समीका बिरुवामा ट्री–गार्ड जडान गरी संरक्षण र हुर्काउने जिम्मेवारीसमेत संस्थाले लिएको जनाएको छ। वातावरण संरक्षणसँगै सार्वजनिक सम्पत्तिको दीर्घकालीन संरक्षणमा सहकारीले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
वृक्षारोपणसँगै सहकारीले बैजनाथ गाउँपालिका–१ देखि ४ सम्मका शेयर सदस्यका सन्ततीमध्ये छनोट गरिएका विद्यार्थीलाई जनही ५ हजार रुपैयाँका दरले कुल ४० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ। संस्थाकी कोषाध्यक्ष सीता थारुका अनुसार आर्थिक अवस्था र अध्ययनमा लगनशीलतालाई आधार मानेर छात्रवृत्ति वितरण गरिएको हो।

सहकारीको कार्यालय परिसरमा आयोजित कार्यक्रममा सल्लाहकार, लेखा समिति तथा सञ्चालक समितिका पदाधिकारीहरूले संयुक्त रूपमा छात्रवृत्ति वितरण गरेका थिए। सचिव शारदा शाहले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि विस्तार गरिने बताइन्।
कार्यक्रममा प्रमुख सल्लाहकार कल्पना थापाले संस्थाको सुरुआती संघर्ष सम्झिँदै, “कहिल्यै रजिस्टर किन्नसमेत कठिन हुने अवस्थाबाट आज विद्यार्थीलाई ४० हजार रुपैयाँ छात्रवृत्ति वितरण गर्न सक्ने हैसियतमा पुग्नु सबै सरोकारवालाको सामूहिक मेहनतको परिणाम हो,” भनिन्। उनले ग्रामीण महिलाको मेहनत, इमानदारी र लगनशीलताले महिलाले केही गर्न सक्दैनन् भन्ने सोचलाई तोडेको उल्लेख गरिन्।
सहकारीकी अध्यक्ष कमला बुढाले छात्रवृत्ति कार्यक्रम सामाजिक उत्तरदायित्वको एउटा सुरुआत मात्र भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाइने जानकारी दिइन्। महिलाको आत्मविश्वास, परिश्रम र एकताले परिवार मात्र होइन, समाज परिवर्तन गर्न सक्ने भन्दै उनले “हामी सक्दैनौँ होइन, हामी सक्छौँ” भन्ने सोचका साथ अघि बढ्न महिलालाई आग्रह गरिन्।

सहकारीका प्रबन्धक प्रमोद रिजालका अनुसार २०७७ सालमा बैजनाथका वडा नं. १ देखि ४ का महिलालाई उद्यमशील बनाउने उद्देश्यसहित स्थापना भएको संस्था छोटो समयमै आत्मनिर्भर र व्यवस्थित बनेको छ। गत वर्ष सहकारीको नाफाबाट सामाजिक उत्तरदायित्व कोषमा रहेको रकम सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरिएको बताए । उनका अनुसार यस वर्ष सहकारीको मापदण्डअनुसार जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
सहकारीका शेयर सदस्य, कर्मचारी, सामुदायिक वनका पदाधिकारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको सञ्चालन लेखा सहायक चाँदनी थापाले गरेकी थिइन्।











