नेपालगञ्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जना पक्राउ – Buletnews
नेपालगञ्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जना पक्राउ

शंकास्पद कार रोकेर जाँच गर्दा लागुऔषध बरामद, गाडीसहित नियन्त्रणमा

  • बुलेट न्युज

बाँके: बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित भित्री सडकखण्डबाट प्रहरीले ४८ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ४:३० बजे बिपी चोकबाट त्रिभुवन चोकतर्फ जाँदै गरेको बा १७ च १४२२ नम्बरको कार शंकास्पद रूपमा चलिरहेको देखेपछि रोकेर चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा कार चालकको साथबाट ४८ ग्राम ७० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि प्रहरीले कारसहित चालक र कारमा सवार अर्का एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मधुसुधन पुलामी (कार चालक) र सोही स्थानका २८ वर्षीय निश्चल केसी रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्ज तथा प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्