कोहलपुर, बाँके: नेपाली राजनीति र साहित्यका विराट व्यक्तित्व जननायक विश्वेश्वरप्रसाद (वी.पी.) कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा ‘साहित्य र पुस्तकालयको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर–११, बाँकेको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर–११, बाँकेको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ राजनीतिक विश्लेषक, साहित्यकार तथा लेखक नरेन्द्र जंग पिटर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्रा. डा. जनार्दन आचार्य, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र डा. हरिप्रसाद तिमिल्सिना, बाँसगढी सामुदायिक पुस्तकालयका अध्यक्ष बलराम भुजेल, त्रिभुवन सामुदायिक पुस्तकालयका अध्यक्ष यज्ञबहादुर वली, साहित्यकार सागर गैरे, शेखर दहितलगायत साहित्य, शिक्षा र पुस्तकालय क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरेन्द्र जंग पिटरले सूचना र ज्ञानका स्रोतहरू तीव्र रूपमा परिवर्तन भइरहेका वर्तमान समयमा पुस्तकालयहरूले पठन संस्कृतिको संरक्षण र विकासको चुनौती सामना गरिरहेको बताउनुभयो। उहाँले पुस्तकालय केवल पुस्तकहरूको भण्डारण गर्ने स्थान नभई जिज्ञासा, चिन्तन, बहस र वैचारिक संवादको केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो।

उहाँले ज्ञान र सत्ताबीचको संघर्षमा पुस्तकालयलाई पनि एउटा महत्त्वपूर्ण ‘ज्ञान–युद्धस्थल’ का रूपमा व्याख्या गर्दै वी.पी. कोइरालाको साहित्यमा देखिने अराजकतावादी विमर्श, मानवीय स्वतन्त्रताको चेतना तथा नेपाली साहित्यमा उहाँले पुर्याएको विशिष्ट योगदानबारे प्रकाश पार्नुभयो।
कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष प्राध्यापक डा. खोपिराम वलीले ‘वी.पी. कोइरालाको साहित्यिक योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले वी.पी.का कृतिहरूमा प्रगतिशील चेतनाले विशेष स्थान पाएको उल्लेख गर्दै तीन घुम्ती उपन्यासकी पात्र इन्द्रमाया त्यसको सशक्त उदाहरण भएको बताउनुभयो। आफ्ना अध्ययन र अनुसन्धानका आधारमा वी.पी.लाई प्रगतिशील दृष्टिकोणबाट पुनर्मूल्याङ्कन गर्नुपर्ने धारणा राख्दै उहाँले नेपाली साहित्यमा नवीन प्रयोग गर्ने महान् स्रष्टाका रूपमा वी.पी.लाई चित्रण गर्नुभयो।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकालले ज्ञानलाई प्रत्येक व्यक्ति, पाठक र समुदायसम्म पुर्याउने सबैभन्दा प्रभावकारी माध्यम पुस्तकालय नै भएको उल्लेख गर्नुभयो। साहित्यिक कृति, दस्तावेज तथा बौद्धिक सम्पदाको दीर्घकालीन संरक्षणमा पुस्तकालयको भूमिका अपरिहार्य रहेको बताउँदै उहाँले साहित्य र पुस्तकालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यसैगरी प्राज्ञ सदस्य डा. हरिप्रसाद तिमिल्सिनाले वी.पी. कोइरालाको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँलाई राजनीतिक परिवर्तनका संवाहक, राजनीतिक इमान्दारिताका प्रतीक तथा मनोवैज्ञानिक गहिराइका कुशल आख्यानकारका रूपमा व्याख्या गर्नुभयो। वी.पी.का कृतिहरूमा स्वतन्त्रताप्रेमी पात्रमार्फत प्रगतिशील चेतनालाई स्थापित गरिएको उल्लेख गर्दै साहित्यकार र पुस्तकालय एकअर्काका परिपूरक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको प्रारम्भमा अध्यक्ष एकराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र नेपाली साहित्यमा वी.पी. कोइरालाले पुर्याएको ऐतिहासिक योगदानबारे चर्चा गर्नुभयो। समापनका क्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले धन्यवाद ज्ञापन गर्दै वी.पी. कोइरालाको राजनीतिक तथा साहित्यिक योगदान नेपाली समाजका लागि सदैव प्रेरणादायी रहने विश्वास व्यक्त गर्नुभयो।
अन्तरक्रियामा भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेत, साहित्यकार सागर गैरे, शेखर दहित, हरी सुवेदी, पत्रकार जे. पाण्डेलगायतले पनि विषयकेन्द्रित धारणा राख्नुभएको थियो।
कार्यक्रमको निष्कर्षमा सहभागी वक्ताहरूले साहित्य र पुस्तकालयबीचको सम्बन्ध ज्ञानको उत्पादन, संरक्षण र प्रसारको आधारशिला भएको उल्लेख गर्दै सूचना–प्रविधिको तीव्र विकासका बीच पनि पुस्तकालयलाई समाजको बौद्धिक, सांस्कृतिक तथा लोकतान्त्रिक चेतनाको केन्द्रका रूपमा अझ सशक्त बनाउँदै लैजानुपर्ने साझा प्रतिबद्धता व्यक्त गरेका थिए।











