नरैनापुरमा झारफुकका क्रममा एक जनाको मृत्यु, झारफुक गर्ने व्यक्ति पक्राउ – Buletnews
"सुर्खेती बाबा" प्रहरी नियन्त्रणमा
नरैनापुरमा झारफुकका क्रममा एक जनाको मृत्यु, झारफुक गर्ने व्यक्ति पक्राउ

समयमै चिकित्सकीय उपचार नगरी झारफुकजस्ता अन्धविश्वासमा आधारित विधिमा भर पर्दा ज्यानै गुमाउनुपर्ने अवस्था

  • बुलेट न्युज

बाँके: बाँकेको नरैनापुर गाउँपालिकामा झारफुकका क्रममा एक जनाको मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ। वैज्ञानिक चेतनाको विकास हुँदै गए पनि जिल्लाका केही ग्रामीण क्षेत्रमा अन्धविश्वासको प्रभाव अझै कायम रहेको यो घटनाले देखाएको छ।

प्रहरीका अनुसार राप्तीसोनारी गाउँपालिका–७ निवासी ३५ वर्षीय राधेश्याम बढ्ही केही दिनदेखि बिरामी थिए। उपचारका लागि अस्पताल लैजानुको सट्टा उनलाई नरैनापुर गाउँपालिका–६ निवासी वर्कत अली, जसलाई स्थानीय रूपमा “सुर्खेती बाबा” भनेर चिनिन्छ, कहाँ झारफुक गराउन लगिएको थियो। सोही क्रममा उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

भगवानपुर इलाका प्रहरी कार्यालयका अनुसार मृतकको शव पोस्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको छ। घटनामा संलग्न भनिएका वर्कत अलीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यता मृतकका आफन्तले झारफुककै क्रममा राधेश्याम बढ्हीको मृत्यु भएको आरोप लगाएका छन्। घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।

स्वास्थ्य समस्या हुँदा समयमै चिकित्सकीय उपचार नगरी झारफुकजस्ता अन्धविश्वासमा आधारित विधिमा भर पर्दा ज्यानै गुमाउनुपर्ने अवस्था आउन सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्