असारमा बाँके प्रहरीको प्रभावशाली पफमेन्स : २९६ मुद्दा दर्ता, ३१ लागूऔषध कारोबारी पक्राउ – Buletnews
कार्यसम्पादन मूल्याङ्कनमा बाँके उत्कृष्ट
असारमा बाँके प्रहरीको प्रभावशाली पफमेन्स : २९६ मुद्दा दर्ता, ३१ लागूऔषध कारोबारी पक्राउ

नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा समूहकै पहिलो स्थान हासिल गरेको बाँके प्रहरीद्वारा अपराध अनुसन्धानदेखि राजस्व संकलन र सामुदायिक साझेदारीसम्म उल्लेखनीय उपलब्धि सार्वजनिक

  • बुलेट न्युज

बाँके: जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, भन्सार छली रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले प्रभावकारी र सक्रिय प्रहरी कार्यशैली झल्काएको छ।

प्रहरीका अनुसार असार महिनाभर २९६ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ११ वटा जघन्य अपराध, ५८ वटा गम्भीर अपराध, १४७ वटा सामान्य अपराध, ५४ वटा आर्थिक अपराध तथा सार्वजनिक चासोका ५८ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान सम्पन्न गरिएको छ।
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत २४ वटा मुद्दा दर्ता गरी ३१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस क्रममा ३४२ ग्राम ९३० मिलिग्राम ब्राउन सुगर, १४८ ग्राम चरेस, १६८ ट्याब्लेट नाइट्रोजेपाम तथा २५० क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ।
भन्सार छली नियन्त्रणतर्फ करिब रु. ३५ लाख ५९ हजार ६१२ बराबरका अवैध सामान बरामद गरिएको छ। यस क्रममा १२ जना व्यक्ति र १०४ वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

अदालतबाट भएका फैसला कार्यान्वयन अभियानमा १२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूले ४५ वर्ष ३ महिना २३ दिन कैद सजाय तथा रु. ४७ लाख १० हजार ३५८ जरिवाना भुक्तानी गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ट्राफिक व्यवस्थापनतर्फ असार महिनामा ११ वटा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको तथा २७ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ८७० सवारी साधनमाथि कारबाही गरी रु. १६ लाख ४० हजार राजस्व संकलन गरिएको छ।

सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन असारभर १ हजार ५६ पटक पिकेट, ५८२ पटक सवारी चेकजाँच, ५ हजार ८४ वटा ग्रामीण गस्ती (एसआरपी) तथा २२ वटा लामो दूरी गस्ती (एलआरपी) सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ११५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्। ती कार्यक्रमबाट २१ हजार ७६७ पुरुष र १३ हजार २६३ महिला लाभान्वित भएका छन्। विद्यालयमा मात्रै ११ वटा कार्यक्रम सञ्चालन हुँदा २ हजार ६४६ छात्र र २ हजार ३३४ छात्रा सहभागी भएका थिए।

यस अवधिमा ५२ वटा घरेलु हिंसाका उजुरी, ५९९ वटा विभिन्न प्रकृतिका उजुरी, १० वटा आत्महत्याका घटना तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित ८२ वटा उजुरी दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्राकृतिक सम्पदा संरक्षण अभियानअन्तर्गत १५ वटा सवारी साधन नियन्त्रणमा लिई रु. १ लाख ४३ हजार ७७० जरिवाना संकलन गरिएको छ। यस्तै अवैध पशुपन्छी ओसारपसार नियन्त्रणका क्रममा ८० केजी माछा र २ हजार कुखुरा बरामद गरी रु. २ लाख २८ हजार २०० राजस्व संकलन गरिएको छ। अवैध वन पैदावार नियन्त्रणतर्फ ७०.१३६ क्युफिट काठ बरामद गरी रु. २० हजार राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको नेतृत्वमा अपराध नियन्त्रण, अनुसन्धान, लागूऔषध नियन्त्रण, सीमा सुरक्षा तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाइएकै कारण बाँके प्रहरीले नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेको चर्चा छ। प्रहरी स्रोतका अनुसार आगामी दिनमा पनि यही सक्रियता र प्रभावकारितालाई निरन्तरता दिने लक्ष्यसहित अभियान सञ्चालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्