काठमाडौं : मध्य बर्खामा धान रोप्दै गरेका, रोपिसकेका किसानलाई मलको चिन्ताले सताइरहेको छ। रोप्ने वेलामा पर्याप्त मल नपाएका किसान धानको गाँज आउने बेला (बिउ रोपेको २५–३० दिनपछि) मा हाल्ने मल कहाँबाट ल्याउने भन्ने चिन्तामा छन्।
धान रोप्न खेतबारी तयार भइसकेपछि, गाँजिने बेला र बाली पोटाउनुअघि अर्थात् धान रोपेको ५० देखि ५५ दिनपछि गरी धानमा तीन पटक मल हाल्नुपर्छ। तर मल सहजै नपाउँदा सास्ती खेप्नुपर्ने बाध्यता यो पटक पनि आइपरेको सर्लाहीका एक किसान बताउँछन्।
किसानले मलका लागि गुनासो गरिरहँदा सरकारले भने मल नियमितरूपमा आपूर्ति भइरहेको र किसानलाई वितरण गरिरहेको दाबी गर्दै आएको छ। मल आउँदै नआएको र किसानले पाउँदै नपाएको भने होइन। तर चाहिएको जति र सहजै मल नपाउँदा किसानले हरेक बर्ष हैरानी खेप्नुपर्छ।
सरकारले पनि मलको अप्ठ्यारो टार्न जीटूजी (सरकार–सरकार) देखि ग्लोबल टेण्डर गेरै मल ल्याइरहेको छ। तर यस्ता कुनै वर्ष बितेका छैनन्, जब किसानले पर्याप्त र सहजै रासायनिक मल पाएको नपाएको गुनासो गरेका हुन्।
बिशेषगरी बर्खे धानमा मल धेरै चाहिन्छ। मल धेरै खपत हुने वेला पनि यही हो। तर अन्तराष्ट्रिय परिस्थितिका कारण मल आपूर्तिको श्रृंखला प्रभावित हुनु, सम्झौता गरेका आपूर्तिकर्ताले ल्याउँदासम्म मूल्यमा आउने उतारचढाव, स्वदेशमा भित्र्याइएका मल पनि व्यवस्थित रुपमा वितरण गर्न नसक्दा किसानले सहजै मल नपाएको गुनासो गर्नु परेको छ।
सरकारी अधिकारीहरु भने किसानले जथाभावी रूपमा मल हाल्ने प्रवृत्तिका कारण मलको अभाव थपिने गरेको बताउने गर्छन्। रासायनिक मलको असन्तुलित र बढ्दो प्रयोगका सन्दर्भमा विज्ञको धारणा पनि उस्तै छ।
मल वितरण प्रणालीलाई व्यवस्थित, पारदर्शी बनाउने प्रयास सरकारले गरिरहेको छ। तर सहकारीबाट मुस्किलले मल पाउने गरेको किसानको दुखेसो छ। विज्ञका अनुसार, रासायनिक मलमा देखिने समस्याको मुख्य कारण भनेकै स्वदेशमा मल उत्पादन गर्ने कारखाना नहुँदा भारत हुँदै तेस्रो मुलुकबाट ल्याउनुपर्ने बाध्यता हो।
स्वदेशमै मल उद्योग खोलेर आन्तरिक खपत धान्ने मात्र नभई निर्यात समेत गर्ने भनी मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाइएको छ। तर यही उत्पादन नहुञ्जेल मलको समस्या बल्झिरहने देखिन्छ। यसर्थ अहिले रासायनिक मलको प्रयोग तत्काल हटाउन नसक्ने तर प्रांगारिक र जैविक मलको प्रयोगलाई बढाएर समस्या केही कम गर्न प्रोत्साहित गरिँदैछ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी यति वेला किसानको घरदैलोमै पुगेर प्रांगारिक मलको प्रयोग बढाउन आग्रह गरिरहेकी छिन्। धनुषाको विभिन्न स्थानको अवलोकन गरेपछि किसानको खेतमा पुगेर स्थानीय स्रोतले बनेका गोठे मल, प्रांगारिक मल लगायत प्रयोग गर्न सुझाव दिएकी छिन्।
‘माटो सुधार नै कृषि सुधारको आधार हो, स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्छ’, मन्त्री चौधरी भनिन्। यसले रासायनिक मलमाथिको निर्भरता घट्दै जानुका साथै दीर्घकालिन रूपमा माटो सुधार हुने विश्वास गरिएको छ।











