चितवन: नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। तुइन खोलामा गएराति पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको हो।
४५ घण्टा लगाएर पहिरो हटाएपछि आइतबार दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन: पहिरो खसेपछि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवनका ट्राफिक प्रहरी प्रमुख गायत्री शर्माका अनुसार गएरात ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन।
रातको समयमा जोखिम हुने भएकाले गएराति ९ बजेबाट आज बिहान बिहान ५ बजेसम्म यो सडकमा आवागमन रोक्नका लागि प्रशासनले सूचना जारी गरेको थियो। तर, त्यसअघि नै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। अबरुद्द सडक राती नै खाली गरि सोमवार बिहानदेखी एकतर्फी संचालन भएको समाचार अपडेट प्राप्त भएको छ । गएरातभर बन्द गरिएको मुग्लिङ–नारायणगढ सडक आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन हुन थालेका छन् ।
गएको शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेपछि सडक ४५ घण्टासम्म अवरुद्ध भएको थियो।
सोही स्थानमा पुनः पहिरो खसेको हो। यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुन्छन्। अब यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
दुई दिनदेखि सडकमा अलपत्र परेका केही यात्रु गन्तव्यमा गए पनि पहिरो खसेपछि अन्य त्यही रोकिएका छन्।











