मुगु: मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एअरलाइन्सले आईतवार उडान भरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एअरलाइन्सले यसअघि गएकाे वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो ।
नियमित उडान हुँदा मुगालीहरूले राहत महसुस गरेका थिए । तर चार महिनायता उडान नहुँदा यो विमानस्थल भएर नेपालकै ठूलो ताल राराताल घुम्न आउने पर्यटक र अन्य यात्रुले हवाई यात्राका लागि सास्ती भोग्दै आएका थिए । आईतवारदेखि नेपाल एअरलाइन्सले रारा विमानस्थलमा पुनः उडान शुरू भएको नेपाल एअरलाइन्स रारा विमानस्थल कक्षका प्रमुख नवीनकुमार विष्टले जानकारी दिए ।
नेपालगञ्ज उपचारका लागि नेपाल एअरलाइन्सबाट जानु लागेका यात्रु सुमित्रा रावल भन्छिन, ‘नियमित उडान गरिदिए दुर्गमका नागरिकले राहत पाउँथ्यौँ ।’
विविध कारणले नियमित उडान नभए पनि अब नियमित उडानका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रमुख विष्ट बताउछन । रारा विमानस्थलमा समिट एअर, तारा एअर, सीता एअर र नेपाल एअरलाइन्सले उडान भर्दै आएका छन् ।











