बाँकेमा यात्रु सहायता कक्ष सञ्चालनमा – Buletnews
बाँकेमा यात्रु सहायता कक्ष सञ्चालनमा

भारतबाट फर्किने नेपालीलाई रिक्सा चालकदेखि होटल व्यवसायी समेतले दुःख दिने गरेको गुनासो

  • बुलेट न्युज

बाँके: दसैँ तिहारजस्ता ठुला चाडपर्वमा भारतबाट आउने लगायतका यात्रुहरुको अत्याधीक चाप बढ्ने भएकाले सोलाई लक्षित गरेर जिल्लाका तीन ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापन विशेष योजनाअन्तर्गत यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले भारतबाट आउने नेपालीको सुरक्षा र सहजतालाई ध्यानमा राखेर जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जनाउँदै उनीहरु लगायत अन्य यात्रुका लागि नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको बताए ।

उनले भारतबाट फर्किने नेपालीलाई रिक्सा चालकदेखि होटल व्यवसायी समेतले दुःख दिने गरेको गुनासो आएकले फर्किने नेपालीलाई सहजिकरण गर्न यात्रु सहायता कक्षले सहयोग गर्ने बताए।

चाडपर्वको बेला यात्रुहरुको बसपार्कमा अत्यधिक भीडभाड हुने गरेकोले ठगिने र लुटिने सम्भावना समेत रहेकोले त्यस्ता कार्य रोक्न पनि सहायता कक्षले मद्दत गर्ने प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाका विभिन्न नाका तथा मुख्य सडक र राजमार्ग क्षेत्रमा समेत थप जनशक्ति परिचालन गरिएको जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँमा अस्थायी यात्रु सहायता कक्ष सञ्चालन गरेर सर्वसाधारणलाई सेवा प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दसै र तिहारको बेला यात्रुहरुलाई गाडीमा आवागमन गर्न निकै समस्या हुने, ठगीमा पर्ने र लुटपाटमा समेत पर्ने घटनाहरु हुँदै आएकोले राजमार्गहरुमा समेत आपातकालीन चेकजाँचसँगै थप जनशक्ति परिचालन गरेर गस्ती शुरु गराईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्