बाँकेको राप्ती नदिमा माछा मार्न गएका एक बालक बेपत्ता – Buletnews
बाँकेको राप्ती नदिमा माछा मार्न गएका एक बालक बेपत्ता

दसैंको मुखमा छोरा नदीमा बगेर बेपत्ता भएपछि पुन परिवार गहिरो शोकमा

  • बुलेट न्युज

बाँके: आफ्नो बुबासँगै राप्ती नदीमा माछा मार्न गएका राप्तीसोनारी ७ सैयापुरका ११ वर्षीय बालक भीम पुन नदीमा डुबेर बेपत्ता भएका छन् ।

राप्तीसोनारी वडा ७ का वडा अध्यक्ष राम लखन थारुले दिएको जानकारी अनुसार सैयापुरका प्रेम पुन आफ्नो छोरा भिम पुनसंगै राप्ती नदीको पिप्रहवा घाट नजिक सोमवार दिउँसो माछा मार्न गएको बेला प्रेमका छोरा भिम नदीमा डुबेर बेपत्ता भएका हुन् ।

माछा मार्ने क्रममा नदीमा पसेपछि छोरा एक्कासी डुबेर बेपत्ता भएको जानकारी पुनले गराएको बताउदै वडा अध्यक्ष थारुले त्यसयता खोजी कार्य भइरहेपनि भिमको अवस्था केही पत्ता नलागेको बताए।

प्रहरीलाई जानकारी गराएपछि सशस्त्र प्रहरीको गोताखोर टोली शमसेरगन्जबाट आएको र सोमवार अबेर रातीसम्म खोजी गर्दा पनि केही पत्ता नलागेपछि  उनिहरु फर्किएको उनले बताएका छन ।

वडा अध्यक्ष थारुका अनुसार मंगलवार पनि स्थानीयले बिहानबाटै नदीको किनार किनार टाढासम्म पुगेर खोजी गरिरहेका छन् ।

दसैंको मुखमा छोरा नदीमा बगेर बेपत्ता भएपछि पुन परिवारमा गहिरो शोक छाएको छ । पुन परिवार मात्रै नभई सैयापुर गाउँनै शोकमग्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्