बाँकेका अस्पतालहरुमा रुघाखोकी र ज्वरोका बिरामीको चाप – Buletnews
मौसम परिवर्तनको असर
बाँकेका अस्पतालहरुमा रुघाखोकी र ज्वरोका बिरामीको चाप

एकसाता अघिसम्म रहेको अत्यधिक उम्सो गर्मी र त्यसपछि भएको वर्षा मुख्य कारक

  • बुलेट न्युज

बाँके: मौसम परिवर्तन भएसँगै हाल आएर बाँके जिल्लामा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्।

एकसाता अघिसम्म रहेको अत्यधिक उम्सो गर्मी र त्यसपछि भएको वर्षाका कारण जिल्लामा ज्वरो, रुघाखोकी, निमोनिया र पखालाका बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएका छन्।

भेरी अस्पतालका सूचना अधिकारी एवं वरिष्ठ फिजिसियन डा. सङ्केतकुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने लगायतका लक्षण देखिने बिरामी अहिले फेरि अस्पतालमा सबैभन्दा बढी आउने गरेका छन्।

दसैँको बिदाको बेलासमेत भेरी अस्पतालको इमर्जेन्सीमा त्यस्ता बिरामी धेरै आएको जनाउँदै उनले बिदापछि अस्पतालका सेवा पूर्णरूपमा सञ्चालनमा आएपछि भाइरल फ्लुका बिरामी आइरहेको बताए ।

नेपालगन्जस्थित सञ्जीवनी अस्पतालले पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण भाइरलफ्लुका बिरामी उपचारका लागि अस्पतालमा धेरै आइरहेको जनाएको छ।

सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले पछिल्लो समयमा रुघाखोकी, ज्वरो र पखाला लगायतका धेरै बिरामी अस्पतालमा उपचार गराउन आएको बताए।

प्रतिक्रिया दिनुहोस्