सुवर्ण कलशमा अमृत लिएर चतुर्भुज रूपमा प्रकट भएका धन्वन्तरीले देवता र असुरबिच अमृत वितरण गरेपछि देवराज इन्द्रको अनुरोधमा देव वैद्यको पद स्वीकार गरी स्वर्गमा बसोबास गरे । त्यसै समयदेखि धन्वन्तरीलाई आरोग्यका देवता र आयुर्वेदका संस्थापकका रूपमा मानिन्छ ।
आयुर्वेद शास्त्रका प्रवर्तक धन्वन्तरीलाई ‘वैद्यराज’- वैद्यहरूको राजा पनि भनिन्छ । आजकै दिन आयुर्वेदका विद्यार्थी, चिकित्सक र स्वास्थ्यकर्मीहरूले विशेष कार्यक्रम आयोजना गरी भगवान् धन्वन्तरीको पूजा र आराधना गर्ने परम्परा रहेको छ ।धन्वन्तरीको पूजा वा आराधना निम्न मन्त्रद्धारा गर्नुपर्दछ ।
अमृतकलश हस्ताय सर्वामय विनाशनाय
त्रैलोक्यनाथाय श्रीमहाविष्णवे नमः
अर्थात
म भगवान् वासुदेव (विष्णु) लाई नमस्कार गर्छु । जो भगवान् धन्वन्तरीका रूपमा प्रकट भएका छन्, तिनलाई नमस्कार । जसका हातमा अमृत (अजर–अमर हुने शक्ति) भएको कलश छ । जो सबै प्रकारका रोग, पीडा र व्याधिहरू नाश गर्ने शक्ति राख्छन् । जो तीन लोकका स्वामी हुन् स्वर्ग, पृथ्वी र पातालका अधिपति । म ती महान् विष्णुलाई नमस्कार गर्दछु, जो समस्त जगत्को पालक हुन् ।
धार्मिक विश्वास अनुसार, धन्वन्तरीको पूजा आराधनाले शरीर, मन र आत्मामा आरोग्य र शान्ति प्राप्त हुन्छ । रोग निवारण, दीर्घायु, भय नाश, चिन्ता शमन र मानसिक स्थिरता प्राप्त हुने जनविश्वास रहेको छ । विशेष गरी चिकित्सा तथा सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि यो दिन अत्यन्त शुभ मानिन्छ ।











