मानसरोवर कैलाश दर्शन गर्ने सिजनमा हुम्लाका होटेलले गरे सात करोडको कारोबार – Buletnews
मानसरोवर कैलाश दर्शन गर्ने सिजनमा हुम्लाका होटेलले गरे सात करोडको कारोबार
  • बुलेट न्युज

हुम्ला: मानसरोवर कैलाश यात्रा गर्ने सिजनमा हुम्लाका होटेल व्यवसायीले झन्डै सात करोड रुपियाँको कारोबार गरेका छन् । साढे पाँच महिनाको पर्यटकीय सिजनमा सदरमुकाम सिमकोट र हिल्साका होटेल व्यवसायीले सो कारोबार गरका हुन् ।

मानसरोवर कैलाश दर्शन गर्ने सिजनमा हुम्लाका होटेलले छ करोड ७२ लाख रुपियाँ बराबरको कारोबार गरेको होटेल व्यवसायी सङ्घका अध्यक्ष मिमबहादुर तामाङले बताए। यस वर्ष वैशाखदेखि असोज तेस्रो सातासम्म छ हजार ४०७ जना भारतीय तथा अन्य देशका धार्मिक पर्यटकले मानसरोवर कैलशाको यात्रा गरेका थिए । मानसरोवर कैलाशको दर्शनपछि पनि पर्यटक हिल्सा र सिमकोटमा बास बस्ने गर्दछन् । यसरी बास बस्दा हिल्सा र सिमकोटका होटेलमा एक जना पर्यटकले कम्तीमा १० हजार पाँँच सय रुपियाँ खर्च गरेको उनले बताए। अध्यक्ष तामाङको होटेल पोतलाले मात्र यो सिजनमा ७८ लाख रुपियाँभन्दा बढीको कारोबार गरेको जानकारी दिए।

पर्यटकका लागि बास बस्नयोग्य होटेल सिमकोटमा आठ वटा र हिल्सामा चार वटा छन् । सिमकोट र हिल्साका होटेलले एक सयदेखि एक हजार पाँच सय जना पर्यटकलाई बास दिएर १० लाख ५० हजारदेखि ७८ लाख ७५ हजार रुपियाँसम्म कारोबार गरेको हिल्साका होटेल व्यवसायी कर्म लामाले बताए । यसले गर्दा कोरोनापछि सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटेल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गर्न सफल भएका छन् ।

चीनले हुम्लाको हिल्सा नाका २०८१ वैशाख १८ बाट सञ्चालनमा ल्याएको थियो तर त्यतिबेला भारतीय पर्यटकलाई मानसरोवर कैलाश दर्शन गर्ने अनुमति चीनले दिएको थिएन । २०८२ सालको वैशाखदेखि भारतीय पर्यटकलाई पनि मानसरोवर कैलाश दर्शन गर्ने अनुमति चीनले दिएपछि असोजको तेस्रो हप्तासम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शनका लागि पर्यटक आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्