मधेस प्रदेशमा आज कुष्माण्ड नवमी पर्व मनाइँदै – Buletnews
मधेस प्रदेशमा आज कुष्माण्ड नवमी पर्व मनाइँदै
  • बुलेट न्युज

पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउन सबैलाई उत्प्रेरित गर्न यो पर्व परम्परा चलेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्र दास वैष्णवले बताए ।

‘धातृ (अमला) अत्यन्त गुणकारी फल मानिन्छ, जाडोयाममा यसको सेवनले कैयौँ रोगसँग जुध्ने क्षमता बढाउँछ,’ उनी भन्छन्, ‘यही हितकारी सन्देशका लागि पूर्वजहरूले यो पर्व परम्परा चलाएका हुन् ।’

यस अवसरमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिने गरेका छन् । सांस्कृतिक तथा पारम्परिक चाडबाडमा पछिल्लो पुस्ताको सहभागिता बढ्नु यसको संरक्षणका लागि महत्त्वपूर्ण हुने धेरैको बुझाइ छ । यसरी किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउने जलेश्वर–५ पतैलीका संस्कृतिविद् ध्रुव रायको भनाइ छ ।

खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि पनि सहयोगी भएको बर्दिबास–१२ बिजलपुराका बासिन्दा वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले बताए ।

यस पर्वसँग जोडेर मिथिलामा द्वापर युगकालीन कथा पनि प्रचलनमा छ । कात्तिक शुक्ल नवमीका दिन भगवान् श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंश बध गर्नपूर्व मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वास गरिन्छ । यसैले यस दिनलाई कुष्माण्ड नवमी भनिएको संस्कृतिविद् रायको भनाइ छ ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रूखमा बस्ने हिन्दू मैथिल जनविश्वास छ । यस दिन भगवान् विष्णुको आराधनाले कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने हिन्दू मैथिल मान्यता छ । यसैले यो दिनलाई अक्षय नवमी भनिन्छ ।

यसैगरी, श्रीविष्णुको आराधनाले इच्छित कामना पूरा हुनेहुँदा इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउँछन् ।

अमला स्वस्थ खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्