नेपालगन्ज खाद्यले यस बर्ष २० हजार क्विन्टल धान खरिद गर्ने – Buletnews
नेपालगन्ज खाद्यले यस बर्ष २० हजार क्विन्टल धान खरिद गर्ने

मोटा धान १५ हजार र मध्यम धान पाँच हजार क्विन्टल खरिद गर्ने गरी कोटा निर्धारण

  • बुलेट न्युज

बाँके : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामसरण लामिछानेले कार्यालयले मोटा धान १५ हजार र मध्यम धान पाँच हजार क्विन्टल खरिद गर्ने गरी कोटा निर्धारण भएर आएको जानकारी दिए ।

उनले गत वर्ष नेपालगञ्जमा मध्यम धान २५ हजार र मोटा धान सात हजार गरेर ३२ हजार क्विन्टल धान खरिद गरेको कार्यालयले जनाएको छ । साथै यस वर्ष २० हजार क्विन्टल मात्र धान खरिदको कोटा आएको बताए ।

प्रमुख जिल्ला अधिकारीको सरुवा भएकाले नयाँ प्रमुख जिल्ला अधिकारी आएलगत्तै खरिद समितिको बैठक बसेर निर्णय गरी धान खरिद सुरु गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ ।

तर, कम्पनीले धान खरिद अझै सुरु नगर्दा किसानले बजारमा व्यापारीलाई बाध्य भएर दुबै धानमा करिब नौ सय रुपैयाँ क्विन्टल कम मूल्यमा धान बिक्री गरिरहेका छन् ।

सरकारले तोकेको समर्थन मूल्य अनुसार व्यापारीले धान खरिद नगर्दा किसानलाई निकै समस्या परेको उनिहरूको गुनासो छ । धान खरिदमा ढिलाइ गरिँदा सरकारले तोकेको मूल्य नपाएपछि आफुहरूले बाध्य भएर नौ सय रुपैयाँ कम मूल्यमा बजारमा धान बिक्री गर्नु परेको दुखेसो बाँके कम्दीका किसान राजन मौर्यले पोखे ।

उनले सरकारले धान खरिदमा ढिलाई गर्ने, खरिद सुरु गरेपनि निकै कम धान खरिद गर्ने र खरिद गर्दा विभिन्न मापदण्ड लगाएर अधिकांश धान फिर्ता पठाउने गरेकाले किसानलाई निकै समस्या भएको बताए ।

बाँके बनकटवाका किसान दिपेन्द्र चौधरीले धान खरिदमा ढिलाई गरिएको र त्यसमा पनि विभिन्न बाधा अवरोध कायम गरिने हुँदा किसानको बिचल्ली हुने गुनासो गरे ।

हाल खाद्य व्यवस्था कार्यालयमा गत वर्ष खरिद गरिएको धानको २० हजार क्विन्टल चामल मौज्दात रहेकाले धेरै धान खरिद गरेर राख्ने ठाउँ अभावले पनि समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले जनाएको छ ।

गत वर्ष धान खरिद गरेर तयार गरिएको चामल महँगो भयो भनेर बिक्री नहुँदा यस पटक धेरै धान खरिद गर्न नसकिने अवस्था आएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्