बर्दियामा एक सहकारीले किन्यो समर्थन मूल्यमा धान – Buletnews
बर्दियामा एक सहकारीले किन्यो समर्थन मूल्यमा धान
  • बुलेट न्युज

बर्दिया:  ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडले सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरिद गरेको छ । व्यापारीले सरकारले तोकेको समर्थन मूल्यमा समेत धान खरिद नगरेपछि उक्त सहकारी अग्रणी देखिएको हो ।

गत कात्तिक १ देखि धान खरिद सुरु गरेको ताराताल साना किसानले तीन हजार दुई सय क्विन्टल धान खरिद गरिसकेको छ ।

साना किसानले आफ्ना सेयर सदस्यले उत्पादन गरेको धान व्यापारीले सस्तोमा किनेपछि समर्थन मूल्यमा धान खरिदको थालनी गरेको हो । हाल ताराताल साना किसानमा धान बेच्ने किसानको भिड लागेको छ । तिहारअघि नै खरिद सुरु गरे पनि बिचमा पानी परेकाले रोकिएको थियो ।

सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ तोकेको छ तर व्यापारीले दुई हजार ५२८ रुपियाँसम्ममा धान खरिद गरेका छन् । मधुवन नगरपालिका–९ का किसान टङ्कप्रसाद पौडेलले व्यापारीले धानको मूल्य नदिएका कारण साना किसानमा धान बेच्न ल्याएको बताए । उनले सहकारीले धान खरिद गरेको हुनाले किसानलाई सहज भएको बताए ।

मधुवन नगरपालिका–७, गङ्गा बस्तीकी मनमती चौधरीले पनि व्यापारीले धान मूल्य नदिएको हुनाले नै ताराताल साना किसानमा धान बेच्न ल्याएको बताए। उनले भने, “व्यापारीले राम्रो मूल्य दिँदैनन् । कतिपय व्यापारीले त खरिद नै गर्दैनौँ भने । त्यसैले सहकारीमा ल्याएँ ।”

ताराताल साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक डम्बर केसीले सहकारीले पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको बताए । धानको मूल्य नपाएर किसानको श्रमसमेत नउठेको पाएपछि धान खरिद गरेको बताउँदै उहाँले किसानको मात्र धान खरिद गरिने बताए । उनले हाल किसानको धान खरिद र भण्डारणका लागि मधुवन नगरपालिकाले पाँच लाख रुपियाँ सहयोग गरेको बताए । ताराताल साना किसानका अध्यक्ष प्रेमप्रसाद तिमिल्सिनाले कृषकलाई सहयोग होस् भनेर धान खरिद गरेको बताए ।

ताराताल साना किसानले गत वर्ष पनि कृषकको एक हजार क्विन्टल धान खरिद गरेको थियो । सो धान अझै स्टक रहेको छ । बजेट भएमा धान खपतका लागि चामल मिल स्थापना गर्ने लक्ष्य राखेको छ ।

किसानले सस्तो मूल्यमा धान बिक्री गरिरहँदा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले धान खरिदको सुरुवात भने गरेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका सूचना अधिकारी चेतमान कठायतले मङ्गलबार मात्र धान खरिद सुरु गर्ने बताए। यस वर्ष कम्पनीले ३० हजार क्विन्टल मात्र धान खरिद गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्