नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खडक बहादुर खड्कालाई – Buletnews
नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खडक बहादुर खड्कालाई

हाफ म्याराथन महिलातर्फको उपाधि जुम्लाकी पुर्णलक्ष्मी न्यौपानेको पोल्टामा

  • बुलेट न्युज

बाँके ११औं धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खडक बहादुर खड्काले जितेका छन् । शनिबार विहान नेपालगञ्जमा सम्पन्न नेपालगञ्ज म्याराथनको ११औं संस्करणको उपाधि जितेका सेनाका खड्काले २ लाख नगद पुरस्कार समेत हात पारेका छन् । खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका थिए । उनी गत संस्करणका पनि विजेता हुन् ।

May be an image of one or more people and textयसैगरी २ घण्टा १६ मिनेट ४८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्दै नेपाल आर्मीकै सुशिल कुमार शाही दोस्रो तथा २ घण्टा १९ मिनेट १८ सेकेण्डमा उक्त दुरी पार गर्दै सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो भएका छन् । दोस्रो भएका शाही र तेस्रो भएका पार्कीले क्रमशः नगद रु. १ लाख र ५० हजार पुरस्कार जितेका छन् ।

May be an image of one or more people and text

 

यस्तै हाफ म्याराथन महिलातर्फको उपाधि जुम्लाकी पुर्णलक्ष्मी न्यौपानेले जितेकी छिन् । उनी पाँचौं संस्करणकी विजेता पनि हुन् । उनले उपाधिसंगै नगद ७५ हजार पुरस्कार हात पारेकी छिन् । यस्तै हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फुलमती राना दोस्रो हुँदा तेस्रो आश्मा विश्वकर्मा भएकी छिन् ।

 

म्याराथन शुभारम्भ र समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङ, नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल, मिस नेपाल लुना लुइँटेल, नेपालगञ्ज म्यारथनका संस्थापक टीएस ठकुरी, प्रायोजक केएल दुगद ग्रुपका सिइओ प्रदिप छाछेड लगायतको उपस्थिति थियो ।

म्याराथन र हाफ म्याराथन तथा अन्य विभिन्न विधाका विजेता खेलाडीलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो । शीर्ष दश स्थानसम्म र दौड पूरा गर्ने सबैलाई ५ हजार नगद पुरस्कार दिइएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्