बाँके: नेपाल पर्यटन बोर्डको टोली तथा पत्रकारहरूलाई लिएर बाँके राष्ट्रिय निकुञ्जमा शुक्रबार जंगल सफारी सम्पन्न गरिएको छ । निकुञ्जको पर्यटन प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाएर पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको संयोजनमा सफारी कार्यक्रम सञ्चालन गरिएको हो ।
नाट्टा बाँकेका महासचिव भागिराम ओलीका अनुसार टोली ढकेरी हुँदै चुरे क्षेत्रसम्म पुगेको थियो । टोलीमा पर्यटन बोर्डका अधिकारी, भारतका लखनउ र बहराइचबाट आएका सञ्चारकर्मी तथा स्थानीय गरी करिब डेढ दर्जन पत्रकार सहभागी थिए । सफारीको क्रममा पर्यटन बोर्डका सिनियर म्यानेजर सूर्य थपलियाले बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्जसँगै जोडिएको आकर्षक पर्यटन केन्द्रको रूपमा स्थापित भइसकेको बताए । उनले भने, “नेपालगन्ज व्यापारिक र पर्यटनका हिसाबले हब हो । कर्णाली तथा लुम्बिनी प्रदेशको सीमामा रहेको बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन विकासको अपार सम्भावना छ ।”
उनका अनुसार पाटेबाघ निकुञ्जको मुख्य आकर्षण हो भने चुरे पहाड नजिक भएकोले यसको इकोसिस्टम तराईका अन्य निकुञ्ज भन्दा फरक छ, जसको प्रवर्द्धन आवश्यक छ । निकुञ्ज वरपरका होमस्टे र स्थानीय समुदायले पर्यटन गतिविधिबाट आयआर्जन बढाउन थालेका छन् । हालै बढ्दो पर्यटकीय चहलपहलले पर्यटन व्यवसायी उत्साहित बनेका छन् । निकुञ्ज कार्यालयका अनुसार वन्यजन्तुलाई अनुकूल वातावरण बनाउन घाँसे मैदान, कृत्रिम ताल, वनपथ र मचानसहितका पूर्वाधार निर्माण गरिएको छ । करिब एक दर्जन मचान, दुई सय किलोमिटर भन्दा बढी वन पथ, २५ सोलार जडित ताल, ४५० हेक्टर घाँसेमैदान तथा ४ ठूला जलाशय निर्माण गरिसकिएको छ । पूर्वाधार निर्माणसँगै पर्यटन व्यवसायीले पनि लगानी थपिरहेका छन् ।
नाट्टा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देलका अनुसार नेपालगन्जदेखि २०–२२ किलोमिटर दूरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज समिपकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यसको सम्भावना निकै विशाल छ। “निकुञ्जभित्रका बाटाहरू खुलिसकेकाले सहज रूपमा सफारी गर्न सकिन्छ । नेपाल–भारत सीमा खुला भएकाले भारतीय पर्यटक भित्र्याउने सम्भावना पनि उत्तिकै उच्च छ,” उनले बताए ।











