कोहलपुरमा तेस्रो ‘प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता’ मंसिर १७–१९ मा – Buletnews
जम्मा १,८३४ विद्यार्थी प्रतिस्पर्धामा उत्रने
कोहलपुरमा तेस्रो ‘प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता’ मंसिर १७–१९ मा

विद्यार्थीको प्रतिभा निखारिन मद्दत हुने र भविष्यका खेलाडी पहिचान हुने अपेक्षा

  • बुलेट न्युज

कोहलपुर, बाँके: बाँकेको कोहलपुरमा तेस्रो प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता मंसिर १७ देखि १९ गतेसम्म हुने भएको छ। पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे विस्तृत जानकारी दिँदै आयोजकले यस वर्षको संस्करणलाई अझ भव्य र व्यवस्थित बनाइने बताएको छ ।

प्रतियोगिता कोहलपुर खुलामञ्चमा हुनेछ। फिल्ड मार्सल दिनेश सिग्देलका अनुसार उद्घाटन कार्यक्रम मंसिर १७ गते बिहान ११ बजे लुम्बिनी प्रादेशिक विश्वविद्यालयका कुलपति प्रा. विनोद प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सुरु हुने छ।

प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले खेलकुदले विद्यार्थीको प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसपटक माध्यमिक, आधारभूत र पूर्व–प्रावि तहका विद्यार्थीलाई लक्षित गर्दै विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइने बताए।

यस वर्षको प्रतियोगितामा माध्यमिक तहबाट १८ गोल्ड मेडल, आधारभूत तहबाट १२ गोल्ड मेडलका लागि जम्मा १,८३४ विद्यार्थी प्रतिस्पर्धामा उत्रनेछन्। केसीका अनुसार “किताबी ज्ञान मात्र पर्याप्त हुँदैन, खेलले पनि विद्यार्थीको क्षमता उजागर गर्छ। यहाँबाट उत्पादन भएका धेरै खेलाडी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किरहेका छन्।”

आयोजकले प्रतियोगिताबाट स्थानीयस्तरको खेलकुद विकासमा टेवा पुग्ने, विद्यार्थीको प्रतिभा निखारिन मद्दत हुने र भविष्यका खेलाडी पहिचान हुने अपेक्षा राखेको छ।

प्रतिक्रिया दिनुहोस्