बाँके: अवैध लागुऔषध कारोबारलाई निस्तेज पार्ने लक्ष्यसहित लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज पछिल्ला दिनमा व्यापक, तीव्र र परिणाममुखी अपरेसनमा उत्रिएको छ । ब्यूरोले नेपाल-भारत सीमा नाका र प्रमुख बजार क्षेत्रसम्म निगरानी कडा बनाएको छ, जसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ ।
यही अभियान अन्तर्गत विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट असई नवीन कुमार शाहीको कमाण्डमा खटिएको टोलीले सोमबार साँझ १०० ग्राम १६० मिलिग्राम खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा नेपालगन्ज-१४ मेरो प्लानेट नजिक ठूलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको सुराक पाएर गएको लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले सोमबार साँझ ५ बजे नेपालगन्ज-१४ का २४ वर्षीय सुधिव भट, सोही स्थान बस्ने २६ वर्षीय पवन कुमार शर्मा र डुडुवा–६ का ३२ वर्षीय राजु साईलाई पक्राउ गरेको थियो ।
नेपालगञ्ज–१४ को ‘मेरो प्लानेट’ नजिकै भे १२ प १२२९ नम्बरको मोटरसाइकल रोकेर तीन युवकहरुले खैरो हेरोइनको खरिद बिक्री गरिरहेको जानकारी पाएर पुगेको लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय नेपालगन्जको टोलीले उनीहरूको खानतलासी गर्ने क्रममा सुधिवको पाइन्टको खल्तीबाट ६४ ग्राम ६९० मिलिग्राम खैरो हेरोइन र ४ थान मोबाइल फोन बरामद गरेको हो ।
उनीहरुलाई खैरो हेरोइन नेपलगन्ज–१३ उदयपुरुवाका ५९ वर्षीय सुरत खटिकले बिक्री गरेको खुलेपछि लागुऔषध नियन्त्रण ब्यूरोले खटिकलाई सोमबार साँझ साढे ६ बजे उदयपुरुवा क्षेत्रमा फेला पारेर खानतलासी गर्दा उनको खल्तीबाट समेत ३५ ग्राम ४७० मिलिग्राम हेरोइन र एक थान मोबाइल फेला पारेको थियो ।
लागुऔषध नियन्त्रण ब्यूरोले दुवै घटनाबाट बरामद गरिएको १०० ग्राम १६० मिलिग्राम खैरो हेरोइन, ५ थान मोबाइल फोन र एउटा मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको जानकारी दिएको छ ।











