११ औँ राष्ट्रिय महाधिवेशनको निम्तो दिन एमाले नेताहरु घरदैलोमा – Buletnews
११ औँ राष्ट्रिय महाधिवेशनको निम्तो दिन एमाले नेताहरु घरदैलोमा
  • बुलेट न्युज

काठमाडौँ: नेपाल कम्युनिष्ट पाडर्टी (एमाले) ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागिताका लागि घरदैलोमा पुगेर सो पार्टीका नेताहरुले निमन्त्रणा दिने कार्य सुरु गरेका छन ।

एमालेका उपमहासचिव एवं महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले आज काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट सो अभियानको थालनी गरेका हुन । नेता ज्ञवालीसहितको टोलीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट जारी अपिल बुझाउँदै मुलुकको राष्ट्रिय राजनीतिक र एमाले महाधिवेशनको महत्वबारे प्रकाश पारेका थिए ।

टोलीमा अभियानमा पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेललगायत नेताहरू सहभागी छन। यस्तै, भक्तपुरको सूर्यविनायक, चाँगुनारायणलगायत पालिकामा पोलिटब्यूरो सदस्य महेश बस्नेत, जिल्ला अध्यक्ष बचन देउजा, बागमती प्रदेशका स्वास्थ्यमन्त्री एवं जिल्ला उपाध्यक्ष किरण थापालगायतले घर घरमा निमन्त्रणा दिन गएको बताईएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि आजै यो अभियान सुरु भएको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई रूपान्तरित गर्नुपर्ने अध्यक्ष ओलीको अपिलमा उल्लेख गरिएकोे छ । पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथि, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल–सुखी नेपालीको स्वप्नद्रष्टा पार्टीका रूपमा चित्रण गर्दै वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीर चुनौतीको समय भएको बताए।

मङ्सिर २७ गते दिउँसो साढे १२ बजे भक्तपुरको सल्लाघारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । उद्घाटनका लागि एमालेले खासगरी बागमती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता र जनसमुदायलाई विशेष रूपमा निम्तो दिने तयारी गरेको छ । महाधिवेशनको उद्घाटन सत्रमा करिब तीन लाख जनसहभागिता जुटाउने एमालेले तयारी छ । महाधिवेशनको बन्दसत्र भोलिपल्टदेखि काठमाडौँको भृकुटीण्डपमा हुनेछ । एमालेले राजनीतिक दलका नेतासहित अन्य अतिथिहरुलाई पनि घरदैलोमा गएर निमन्त्रणा हस्तान्तरणको काम गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस्