जागिरको अबकाश पछि अझ जाँजर चलाउदै बागेश्वरी मौरी फार्म बर्दियाका यी खत्री – Buletnews
वार्षिक करिब २० लाख आम्दानी
जागिरको अबकाश पछि अझ जाँजर चलाउदै बागेश्वरी मौरी फार्म बर्दियाका यी खत्री

यस ब्यबसायलाई थप व्यवस्थित र विस्तार गर्ने खत्रीको योजना

  • बुलेट न्युज

बाँके : धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन्। बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहेका छन्।

उनले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाएका छैनन्, बरु समयलाई उत्पादक काममा लगाएका छन्। त्यसबापत उनले राम्रो आम्दानी गरिरहेका छन्। खत्री विगत चार वर्षदेखि मौरीपालनमा रमाइरहेका छन्।

२५ घारबाट शुरु भएको उनको व्यावसायिक यात्राले हाल अहिले सफल व्यवसायीक पहिचान दिएको छ। पहिचान मात्रै होइन, त्यससँग वार्षिक करिब २० लाख आम्दानीसँगै आत्मनिर्भरसमेत बनाएको छ।

बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल १११ घार मौरी छन् र व्यवसायमा श्रीमती मेनका डाँगी खत्रीको बलियो साथ छ। यो दम्पतीलाई यतिबेला कार्तिके मह काड्ने र बिक्री गर्ने चटारो छ। यसबाट वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको खत्रीले सुनाए।

‘बजारको चिन्ता छैन, उत्पादन भएको मह घरबाटै बिक्री हुन्छ। तोरीको कार्तिके मह प्रतिकिलो ५०० र जङ्गली मह रु ७५० रुपैयाँ थोक मूल्यमा बिक्री गरिरहेका छौँ’, उनले भने। यसरी आम्दानी गर्न उहाँको संघर्ष पनि कम छैन। उनले मौसमअनुसार मौरीका घारहरू असारदेखि मङ्सिरसम्म दाङका विभिन्न क्षेत्रमा, मङ्सिरपछि बर्दिया (बढैयाताल र राजापुर क्षेत्र) र अत्यधिक चिसोमा हुस्सुबाट जोगाउन फेरि दाङमा लैजाने गरेका छन्।

जङ्गली महका लागि सिसौको रसका लागि बढैयातालको भदै क्षेत्र र जामुनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मौरीलाई चरन गर्ने गरेको खत्रीले जानकारी दिए। ‘मौरीपालन देख्दा सजिलो लागे पनि यो उत्तिकै चुनौतीपूर्ण छ। मह काढ्नु मात्र ठूलो कुरा होइन, वर्षायाममा मौरीलाई आहाराको अभाव हुन नदिनु र शत्रु जीवबाट जोगाउन धेरै चुनौती छन्। एक सय घार मौरी राम्ररी पाल्न सके मासिक रु एक लाखसम्म सजिलै कमाउन सकिन्छ।’

यो व्यवसायले खत्री परिवारलाई मात्र आर्थिक लाभ दिएको छैन, स्थानीयलाई रोजगारीसमेत सिर्जना गरिरहेको छ। मह काड्ने बेला ११ जना र ढुवानीका बेला चार जनाले काम पाउने गरेका छन्। उहाँले यो व्यवसायलाई थप व्यवस्थिति गर्दै आम्दानीसँगै रोजगारीसमेत बढाउने योजना रहेको उनले सुनाए।

‘मेरो व्यवसायबाट आफ्नो परिवार मात्रै होइन, स्थानीयले पनि केही न केही लाभ पाइरहेको छन्। त्यसैले यसलाई थप व्यवस्थित र विस्तार गर्ने मेरो योजना छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्