बाँके: चान्द्रमानको पात्रोअनुसार कृष्ण पक्षको अन्तिम दिन (अमान्त) हो, औँसी। वैदिक मान्यताअनुसार पितृको पर्व औँसी। यसलाई संस्कृत भाषामा अमावस्या भनिन्छ, छोटोमा अमा। अमावस्याकै नेपाली रूप हो, औँसी।
व्यावहारिकरूपमा कला घट्दै गएर चन्द्रमा नदेखिने (अन्धकारमय) अवस्थाको दिन हो। यद्यपि प्रातःकाल सूर्योदयभन्दा पहिले चन्द्रमा रेखास्वरूपमा देखिए ’सिनीवाली’ भनिन्छ। चन्द्रमाको अवशेष नै नदेखिने औँसी ‘कुहू’ हो।
चलनचल्तीको पात्रो (पञ्चाङ्ग) मा औँसीलाई ३० ले संकेत गरिएको हुन्छ। ज्योतिषीय गणनामा सूर्य र चन्द्रमा एउटै राशिमा पर्ने दिन। उदाहरणका लागि पुस महिनामा सूर्य धनु राशिमा रहन्छ। पञ्चांग पल्टाउँदा पुस औँसीको चन्द्रमा पनि धनु राशिकै रहेको देख्न सकिन्छ।
पूर्णिमा तिथि देवार्चन (देवताको पूजाअर्चना) का लागि महत्त्वपूर्ण मानिन्छ, औँसी पितृस्मरणका लागि। त्यसो त शुक्ल पक्ष पूरै देवताको र कृष्णपक्ष पूरै पितृको पक्ष भनिन्छ।
कृष्णपक्षको प्रतिपदामा शुरु भएर पूर्णिमामा महिना सकिने गणनालाई पूर्णिमान्त भनिन्छ। शुक्लपक्षको प्रतिपदामा शुरु भएर औँसीका दिन सकिने गणनालाई अमान्त भनिन्छ। हाम्रो चलनचल्तीमा रहेको पात्रोचाहिँ पूर्णिमान्त हो, कृष्ण प्रतिपदामा महिना शुरु भएर पूर्णिमामा पूरा हुने।
संस्कृत भाषाका मूर्धन्य विद्वान् शिवराज आचार्र्य कौण्डिन्न्यायनका अनुसार वैदिक धर्मावलम्बीले प्रत्येक औँसीमा श्राद्ध गर्ने विधान छ। त्यसलाई पार्वण श्राद्ध भनिन्छ। ‘पार्वण श्राद्ध भन्नाले पर्व औँसीमा गरिने वा प्रत्येक अपर पक्ष (कृष्ण पक्ष) मा गरिने त्रिपुरुषीश्राद्ध (बुबा-हजुरबुबा-जिजुबुबा) लाई उद्देश्य गरी गरिने श्राद्ध हो’, (पार्वणश्राद्ध पद्धति- २०६४)।
प्रत्येक महिना पार्वण श्राद्ध गर्न नसके त्यसको अनुकल्पमा तीन ऋतुमा तीनपटक र त्यो पनि नसके वर्षको एकपटक श्राद्ध गर्नुपर्ने स्मृतिमा उल्लेख छ। त्यसैलाई आधार मानेर अचेल प्रत्येक औँसीमा श्राद्ध गर्न नसके पनि आश्विन कृष्ण पक्षमा गर्ने चलन छ। पुराणमा पनि गृहस्थीले भदौ वा आश्विनमा श्राद्ध गर्नुपर्ने उल्लेख छ। औँसीमै गरिने श्राद्धको प्रतीक भएकाले यसलाई पार्वण भनिएको हो। योे श्राद्धमा पितातर्फका तीन पुस्ता र मातातर्फका तीन पुस्ताको स्मरण गर्ने (पिण्ड दिने) विधि छ।
औँसी बार्ने
अहिलेको पुस्तालाई थाहा नहुन सक्छ, हाम्रो परम्परामा औँसी बार्ने चलन छ। बार्ने भनेको निषेध अर्थात् गर्न नहुने कुरा। वैदिक तिथिपत्रम् (वैदिक पात्रो– २०८२, स्वाद्ध्यायशाला)पल्टाउँदा हरेक औँसीको विवरणमा देखिन्छ, वैदिकानां पिण्डपितृयज्ञः स्मार्तानां वैदिकानां दर्शश्राद्धम् अर्थात् वैदिक वा स्मार्तहरूले पितृयज्ञ वा श्राद्ध गर्ने दिन। आफ्ना पितृलाई पिण्ड दिने दिन। यससँगै विवरणमा उल्लेख हुन्छ, हल–कण्डनी–यन्त्रक–मन्थनीकर्म–सायम्भोजनपरिहारदिनम् अर्थात् हलो–ढिकी–जाँतो–ठेकी बार्ने (नचलाउने) र साँझ भोजन गर्न नहुने दिन।
चलनचल्तीको पात्रोमा पनि निशि बार्ने उल्लेख गरिएको हुन्छ। निशि बार्ने अर्थात् बेलुकी भोजन नगर्ने (भात नखाने), पत्नीसँग समागम नगर्ने आदि। वैदिक परम्परामा गुरुसँग विधिवत् वेद पढ्न नहुने (अनध्याय) दिनमध्ये औँसी पनि एक हो।
पितृ कोलाहल मन पराउँदैनन्, शान्त वातावरण रुचाउँछन् भन्ने मान्यता छ। त्यसैले त्यो दिन अरु उत्सव गरिँदैन। कुनै मुहूर्त्त वा साइत निस्किँदैन। नियमित पूजा पनि शङ्खघण्ट नबजाई गरिन्छ। नेपाली समाजमा औँसीका दिन अन्न–गेडागुडी सुकाउँदा ‘किरा लाग्दैन’ भन्ने विश्वास छ।











