बाँके:चिसो बढन थालेपछि नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध गर्न लागिएको छ। शीतलहर सुरु भएको दुई दिनभित्रै सार्वजनिक स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाउन लागिएको नेपालगन्ज उपमहानगरका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले बताए। डिभिजन वन कार्यालय, बाँकेमार्फत विभिन्न सामुदायिक वनमा रहेका सुकेका दाउरा खरिद गरेर आगो ताप्नका लागि वितरण हुने श्रेष्ठले जानकारी दिए। वडाको माग अनुसार दाउरा वितरण हुने उनले बताए। ‘हामी अहिले पनि छलफलमै छौँ, वडाको मागअनुसार कहाँ आवश्यकता पर्छ त्यहाँ वितरण हुन्छ’, उनले भने।
जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङले विपद् प्रतिकार्य योजना निर्माण गरेर स्थानीय तह र सरोकार भएकालाई पत्राचार गरिएको जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समितिले २०८२ सालका लागि तयार गरिएको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शीतलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान छ।

शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनामा गरिएको पूर्वानुमान अनुसार शीतलहरबाट नेपालगन्जमा ८ हजार ५२४ परिवारका ४२ हजार ६२०, कोहलपुर नगरपालिकामा ४ हजार १३८ परिवारका २० हजार ६९४ जना, खजुरा गाउँपालिकाका ३ हजार १९३ परिवारका १५ हजार ९६७ जना, जानकी गाउँपालिकाका ३ हजार ८८९ परिवारका १९ हजार ४४८ जना प्रभावित हुने अनुमान छ।
त्यस्तै, बैजनाथ गाउँपालिकाका ३ हजार ५२० परिवारका १७ हजार ६०३ जना, राप्तीसोनारी गाउँपालिकाका ३ हजार ८७२ परिवारका १९ हजार ३६३ जना, नरैनापुर गाउँपालिकाका ४ हजार २१८ परिवारका २२ हजार १३४ जना, डुडुवा गाउँपालिकाका ४ हजार २१८ परिवारका २१ हजार ९१ जना शीतलहरबाट प्रभावित हुने पूर्वानुमान छ। बाँके जिल्ला गर्मीमा अत्यधिक गर्मी हुने, लू चल्ने तथा जाडो मौसममा शीतलहर चलेर अत्यधिक जाडो हुने जिल्लामा पर्छ।










