बाँके: केही दिनयता लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा चिसो एक्कासि बढ्न थालेको छ । रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँचीसहितका अधिकांश जिल्लामा चिसो बढेको महसुस गरिएको छ ।
शीतलहरले चिसो बढेपछि बुटवल तथा भैरहवाका सडकमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको छ । खास गरेर जाडोका कारण बालबालिका, विपन्न, वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले बताए।
जिल्ला विपत् व्यवस्थापन समिति रुपन्देहीको केही दिनअघि बसेको बैठकले शीतलहर जोखिम पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ स्वीकृत गरी प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले उक्त योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए ।

बाँकेमा बाक्लो हुस्सु
बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि बाँकेमा शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको छ भने अर्कोतिर यहाँबाट सङ्घीय राजधानी काठमाडौँ र पश्चिम नेपालका विभिन्न पहाडी जिल्लामा हुने उडान प्रभावित भएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाक्लो कुहिरो र हुस्सुसंगै शीतलहरसमेत चल्न थालेपछि चिसो बढ्दै गएको बताए । उनले बाँकेमा शीतलहर आकस्मिक योजना–२०८२ स्वीकृत गरेर लागु गरी सकिएकोले सर्वसाधारणलाई जोगाउने उपाय अपनाउन सुरु गरिने बताए । उनले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर उनीहरूलाई जोगाउनका लागि स्थानीय तहलाई आग्रह गरिसकिएको बताए ।
हवाई उडान अवरुद्ध
बाक्लो हुस्सु र कुहिरोका कारण मौसम बिग्रिएकाले शुक्रबार दिनभर नेपालगन्ज विमानस्थलबाट काठमाडौँ, पोखरा र पश्चिम नेपालका पहाडी जिल्लामा हुने हवाई उडान रद्द गरिएका थिए ।
शनिबार पनि बिहानदेखि मौसम सफा नभएकाले काठमाडौँका लागि केही उडान भए पनि पहाडी जिल्लामा हुने हवाई उडान अनियमित र प्रभावित भएका छन् । मौसमको खराबीले पहाडी जिल्लामा हुने बिहानका उडान सबैभन्दा बढी प्रभावित हुन थालेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । नेपालगन्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङ तथा काठमाडाैँ र पोखराका लागि २५ भन्दा बढी हवाई उडान हुने गरेका छन् ।
जनजीवन प्रभावित
बिहीबारदेखि एकाएक मौसममा भएको परिवर्तनका कारण बर्दियाका सडक सुनसान देखिएका छन् भने चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई समस्या देखिएको छ । बर्दियाको गुलरियालगायत मैनापोखर, सानोश्री, राजापुर, भुरीगाउँ र बाँसगढी बजारसमेत सुनसान देखिएको छ । चिसो बढ्दै जाँदा सडकमा सवारीको चापसमेत घट्दै गएको छ । चिसोका कारण सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेका छन् ।
गुलरिया नगरपालिका–५ का स्थानीय अजय शर्माले चिसो बढ्दै जाँदा बालबालिकालाई विद्यालय आउन जान समस्या भएको बताए । तीन दिनदेखि घटेको तापक्रम शनिबार दिउँसोसम्म आई पुग्दा १३ डिग्री सेल्सियस पुगेको छ










