नेपाली राजनीतिमा ‘दोहोरो बोली’ वा ‘द्वैध चरित्र’ भन्ने कुरा नयाँ होइन। तर एमाले अध्यक्ष तथा हाल प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला दिनको बोली–व्यवहारले फेरि यसलाई प्रस्ट्याएको छ।
२०८० असोजमा बालकोट निवासमै बसेर पत्रकार ऋषि धमलासँगको १ घण्टा २८ मिनेट लामो अन्तर्वार्तामा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन पाउनु स्वाभाविक कुरा हो भनेर दह्रो बचाउ गर्नुभएकाे थियाे। उहाँका शब्द अझै पनि भिडियोमा सुनिन्छन्— “पूर्वराष्ट्रपतिले राजनीति गर्न मिल्छ। पार्टी अध्यक्ष बन्न पनि पाउँछ, प्रधानमन्त्री बन्न पनि पाउँछ।” त्यतिबेला उहाँले भण्डारीको राष्ट्रपतिका रूपमा गरेका कामलाई ‘देशभक्तिपूर्ण’ र ‘संविधानको रक्षक’ भन्दै खुलेर प्रशंसा गर्नुभएकाे थियाे।
तर आज त्यही ओली “राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कनु हुँदैन।” कसरी भन्न सकिरहनु भइरहेकाे छ । यही उल्टो अभिव्यक्तिले एमालेभित्र मात्र होइन, मुलुकभर प्रश्न र चासो बढाएको छ।
यो परस्परविरोधी बोलीको मूल कारण स्पष्ट रुपमा सन्दर्भ र स्वार्थ बाहेक अरु के हुन सक्ला र ? जब भण्डारीको एमाले भित्र पुनः प्रवेश ओलीकै लागि उपयोगी ठानिएको थियो, उहाँ खुलेर समर्थनमा उत्रिनुभएकाे थियाे। तर अहिले भण्डारी पक्ष सशक्त हुँदै एमालेभित्र शक्ति–सन्तुलनलाई चुनौती दिन थालेपछि, ओलीले उही कुरा ‘बेकार’ भन्न थाल्नुभएकाे न हाे ।
यही हो ओलीको राजनीतिक शैली ? परिस्थितिअनुसार बोली बदल्ने, सत्ता र पार्टीभित्रको समीकरणअनुसार विचार घुमाउने ? यसले केवल एमालेभित्रै होइन, नेपाली राजनीति नै अविश्वसनीय र अवसरवादी देखाउने काम गरेको छैन र ?
राजनीतिमा विचार बदलिन सक्छ, परिस्थिति अनुसार रणनीति मिलाउन सकिन्छ। तर त्यही कुरा–आज सही, भोलि बेकार भनेर पूर्णतया विपरीत बोली बोल्नु भनेकाे ओलीको चरित्रगत कमजोरीको उदाहरण हो। यसरी बोली बदल्दा, उहाँले आफ्नै अघिल्लो वचनलाई झुटो बनाइदिन्छन्, जसले नेताको नैतिक बल घटाउँछ।
आज ओलीकै अघिल्ला अभिव्यक्तिहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। ती भिडियो अंशहरूले स्पष्ट देखाउँछन्— ओलीको बोली समय र स्वार्थअनुसार बदलिन्छ, तर अभिलेखले इतिहासमा त्यो स्थायी बनाइदिन्छ।
राजनीतिको मूल थलोमा सत्य, स्थिरता र नैतिक जिम्मेवारी जरुरी हुन्छ। तर ओलीले देखाएको दोहोरो बोलीले फेरि एक पटक प्रश्न खडा गरेको छ— यस्तो दोहोरोपन बोकेको नेतृत्वबाट के लोकतान्त्रिक संस्कार बलियो हुन्छ ? कि फेरि राजनीतिक अवसरवादको संस्कार अझै गाढा हुन्छ ?
अझ गम्भीर कुरा के हो भने— ओलीजस्ता नेता, जो विगतमा “चट्टानी अडान” भएको, दबाबमा नझुक्ने, राष्ट्रहितमा कठोर निर्णय लिन सक्ने भनेर स्थापित हुनुभएकाे थियाे, उहाँ आज आफ्नै बोलीलाई पटक–पटक खण्डन गर्ने अवस्थामा कसरी पुग्नुभयाे। यस्तो व्यवहारले केवल विपक्षीलाई मात्र होइन, आफ्ना समर्थक कार्यकर्तालाईसमेत लोकलाज लजाएको छ।
त्यसैले अब ओलीलाई चेतना जगाउने बेला आएको छ।
प्रधानमन्त्री ओलीलाई यहाँ स्पष्ट आग्रह छ —
अब त कृपया सचिनुहोस्।
इतिहासलाई झुक्याउन सकिन्न। तपाईंको बोलेको प्रत्येक शब्द भिडियो र कागजमा सुरक्षित छ। आज बोल्ने कुरा भोलि नखानुहोस्। सत्तामा बस्नकै लागि विचार बेच्ने र आफ्नो बोली बारम्बार उल्टाउने प्रवृत्ति त्याग्नुहोस्।
नेता भन्नुको अर्थ जनतालाई सत्य बोल्ने, दृढ रहन सक्ने र कठिन परिस्थिति आए पनि बोलीमा स्थिरता देखाउने हो। तर तपाईंले देखाएको दोहोरो बोलीले एमालेभित्र मात्र होइन, नेपाली राजनीतिलाई नै हास्यास्पद र अविश्वसनीय बनाइरहेको छ।
हामी अपेक्षा गर्छौँ— ओलीले बदला र अहंकारको बाटो होइन, सहिष्णुता र मिलापको बाटो रोज्नुहुनेछ। बोली अनुसारको व्यवहार गरेर, आफ्नो दोहोरोपन सच्याएर, एमालेभित्रको किचलो तत्काल समाधान गर्न अग्रसर हुनुहुनेछ। यसैबाट उहाँको ऐतिहासिक छवि पुनः स्थापित हुन सक्छ।
अब समय आएको छ— ओलीजी, आफ्नो बोलीलाई बेकार नबनाउनुहोस्। बोली बदल्ने बानी त्यागेर एक पटक सत्य र स्थिरताको बाटो समाउनुहोस्।











