एनभीए भलिबल: सेमिफाइनलका सबै खेल आज,पश्चिम रुकुमले कडा चुनौती दिने अनुमान – Buletnews
एनभीए भलिबल: सेमिफाइनलका सबै खेल आज,पश्चिम रुकुमले कडा चुनौती दिने अनुमान

दिउँसो ४ बजे हुने अन्तिम सेमिफाइनलमा रुकुम पश्चिम र अर्को विभागीय टोली आर्मीबिच प्रतिस्पर्धा हुने

  • बुलेट न्युज

महिलातर्फ विहान १० बजे हुने पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
यो खेलमा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। राष्ट्रिय टोलीकी लिबेरो सलिना श्रेष्ठको कप्तानीमा खेलिरहेको न्यु डायमन्डलाई प्रगती नाथ, सुमित्रा रेग्मी तथा प्रतिभा माली जस्ता स्टार खेलाडीको साथ छ । टोलीमा सलिना बुढामगर, एञ्जिला प्रधान, जेनिशा विश्वकर्मा जस्ता युवा खेलाडी पनि छन्।

यता, एपिएफ अनुभवी खेलाडी नेविका चौधरीको कप्तानीमा कोर्टमा उत्रदैछ। यो टिममा राष्ट्रिय टिमबाट खेलिसकेकी निरुता ठगुन्ना पनि छिन्।

दोस्रो खेलमा विभागीय डर्बी हुनेछ। त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा १२ बजे हुने तालिका छ।

पुलिसमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता हुुँदा तुलानात्मक रुपमा आर्मी भन्दा पुलिस बलियो देखिन्छ। उषा भण्डारी, पुनम चन्द, कमला पुन, कामना विष्ट जस्ता खेलाडी पुलिसमा छन्। काभा क्लब च्याम्पियनसिपको तयारी गरिरहेको पुलिसलाई यो खेलको दाबेदारको रुपमा हेरिएको छ।

त्यस्तै, आर्मीमा पनि राष्ट्रिय टिमबाट खेलिरहेकी आरती सुवेदी र सुनिता खड्का लगायत खेलाडी छन्। आरती पछिल्लो खेलमा स्वास्थ्य अवस्था ठिक नभएपछि कोर्टमा देखिरहेकी छिन्।

यता, पुरुषतर्फको पहिलो सेमिफाइनलमा हेल्प नेपाल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउसो २ बजे हुनेछ।

तीन पाकिस्तानी खेलाडी समावेश गरेको हेल्प नेपाल प्रतियोगिताकै उपाधि दाबेदार हो। पुलिससँग राष्ट्रिय टिमका युवा खेलाडी पहल गहतराज, रविन नगरकोटी, भिम गाहा, रेशम छन्त्याल लगायतका खेलाडी छन्।

दिउँसो ४ बजे हुने अन्तिम सेमिफाइनलमा रुकुम पश्चिम र अर्को विभागीय टोली आर्मीबिच प्रतिस्पर्धा हुनेछ।

यो खेल दुबै टोलीको लागि निकै महत्वपूर्ण छ। तीन पाकिस्तानी खेलाडी समावेश गरेको पश्चिम रुकुम उत्कृष्ट प्रदर्शन कायम राख्दै पहिलो पटक फाइनल पुग्ने योजना छ।

यता, आर्मी घरेलु प्रतियोगितामा आफ्नो प्रभुत्व कायम राख्न जसरी पनि फाइनल पुग्ने रणनीतिमा छ। आर्मीमा राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा लगायतका खेलाडी छन्। पछिल्लो समय आर्मीलाई विभाग बाहिर हेल्प नेपालले चुनौती दिँदै आएको थियो।

यसपटक तीन पाकिस्तानी खेलाडी समावेश गरेको पश्चिम रुकुमले कडा चुनौती दिने अनुमान छ। प्रतियोगिताको तेस्रो र चौथो स्थान तथा उपाधिका लागि भोलि खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्