बाँके: देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियसस देखिएको हो।
अझ यो सुरुवाती मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।
यसअघि हिजो (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो। अधिकतम तापक्रम भने १५.३ डिग्री सेल्सियस थियो।
काठमाडौँसहित हाल देशका अन्य स्थानमा पनि तापक्रम घट्दो छ।हिजो आइतबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव ३ अर्थात् -६.३ डिग्री सेल्सियस रहेको मौसम महाशाखाको तथ्यांकले देखाएको छ।
यस्तै हिजो सबैभन्दा कम अधिकतम तापक्रम भने मुस्ताङको सदरमुकाम जोमसोममा ७.६ डिग्री सेल्सियस थियो। यसैगरी सबैभन्दा बढी न्यूनतम तापक्रम झापाको चन्द्रगढी विमानस्थलमा १३ डिग्री सेल्सियस थियो भने सबैभन्दा बढी अधिकतम तापक्रम डोटी जिल्लाको दिपायलमा २२.१ डिग्री सेल्सियस थियो।











