दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशी विद्यार्थीको चासो बढ्दै – Buletnews
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशी विद्यार्थीको चासो बढ्दै

आगामी दिनमा यसलाई एक सय सिट पुर्याउने प्रतिष्ठानको लक्ष्य

  • बुलेट न्युज

दाङ:दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशी विद्यार्थीको चासो बढ्दै गएको छ । एमबिबिएसको पहिलो वर्ष विदेशी विद्यार्थी प्रतिष्ठानमा एक जना मात्रै आएकामा दोस्रो ब्याजमा ४ जनाको सिटमा समयअगावै सबै आइसकेका छन् । प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले राप्ती प्रतिष्ठानमा अहिले विदेशी विध्यार्थीको आकर्षण बढेको र समय अगावै उनीहरुको कोटा पूरा भएको जनाएका छन् ।

चिकित्सा शिक्षाको उच्च गुणस्तर कायम गरेको, बेसिक साइन्समा अनुभवी शिक्षक नियुक्त गरेको, एमबिबिएस र नर्सिङ अध्यनरत छात्रछात्राले प्रतिष्ठानको अध्यापन विधिको प्रशंसा गर्नुको साथै प्रचारप्रसार गरेकाले विदेशी विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ ।

विदेशी विद्यार्थीको शुल्क ४६ लाख भारतीय रुपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा स्नातकोत्तर तहमा पनि विभिन्न विषयमा पढाई पनि शुरु भएको र लामो मेहनत र प्रयासपछि एमबिबिएस पढाई आरम्भ हुँदा जिल्लामा चहलपहल बढेको छ ।

प्रतिष्ठानमा एमबिबिएस अध्ययन गर्न दोस्रो ब्याजमा विद्यार्थीहरु भर्ना भइसकेका छन् । रजिस्ट्रार लम्सालले आफ्नै पालामा एमबिबिएसमा चिकित्सा शिक्षा आयोगमा सिट संख्या बढाउने लक्ष्य लिएको बताए । दाङलाई चिकित्साक्षेत्रको हब बनाउने उदेश्य रहेको बताउँदै उनल दङ्गालीले साथ, सहयोग दिनुपर्ने बताए ।

यहाँ एमबिबिएसको सिट संख्या ५० छ । आगामी दिनमा यसलाई एक सय सिट पुर्याउने प्रतिष्ठानको लक्ष्य रहेको र यसका लागि ४ सय बेडको अस्पताल भबन बनाउने कामलाई तीब्रता दिनुपर्ने रजिस्ट्रार लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्