काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार साफ फुटसल च्याम्पियनसिप खेल्न थाइल्यान्ड जाने नेपालको पुरुष र महिला फुटसल टोलीलाई बिदाइ गरेको छ।
सो प्रतियोगिता जनवरी १३ देखि २६ सम्म थाइल्यान्डको बैङ्ककस्थित नन्थाबरी रङ्गशालामा हुँदै छ । एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङले दुवै टोलीलाई यसपालि तयारी राम्रो भएकाले उपाधिका लागि शुभकामना दिए।
दक्षिण एसियाली फुटबल महासङ्घले पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना गरेको हो। नेपालको महिला फुटसल टिमले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल खेल्दै छ।
एन्फाका महासचिव किरण राईले दुवै टिमलाई आत्मविश्वासका साथ अनुशासित भएर राष्ट्रिय प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्न आह्वान गरे।
पुरुष र महिला दुवै फुटसलमा दक्षिण एसियाका सातै देशको सहभागिता रहेको छ। राउन्ड रोविनपछि सर्वाधिक अङ्क प्राप्त गर्ने टिम च्याम्पियन बन्ने प्रावधान रहेको छ।
महिला फुटसल टिमका प्रशिक्षक विक्रम महर्जनले नेपालको महिला फुटबल टिम साफ च्याम्पियनसिपमा कैयौँ पटक फाइनलमा पुगेर पनि उपाधिविहीन रहेको अवस्थामा आफूलाई चुनौती मात्र होइन, पहिलो संस्करणमै विजेता बनेर इतिहास कायम गर्ने अवसर पनि भएको बताए।
पुरुष टिमका प्रशिक्षक अनिलबहादुर गुरुङले फुटसलमा हाम्रो वरीयता भारतभन्दा माथि रहेको भए पनि सफलता प्राप्त गर्न मैदानमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताए। उनले बङ्गलादेश, माल्दिभ्स र भारतबाट चुनौती पाउने तर उपाधि जित्न सकेमानेपालमा फुटसलको माहोल बन्ने अपेक्षा पनि गरे।
पुरुष टिमका कप्तान विजय श्रेष्ठले अहिलेको टिममा खेलाडीहरू राम्रो भएको बताउँदै यो प्रतियोगिताका लागि आफ्नो टिम तयार रहेको उल्लेख गरे।











