बाँके राष्ट्रिय निकुञ्जको सिमा क्षेत्र नजिक एक महिलाको बाघको आक्रमण बाट गयो ज्यान – Buletnews
बाघले एउटा खुट्टा खाएको अवस्थामा शव फेला
बाँके राष्ट्रिय निकुञ्जको सिमा क्षेत्र नजिक एक महिलाको बाघको आक्रमण बाट गयो ज्यान

बाँके राष्ट्रिय निकुन्ज नजिकै भएकाले जंगलमा दैनिकजसो बाघ देखिने स्थानियहरुको भनाई

  • बुलेट न्युज

बाँके : बाँके राष्ट्रिय निकुञ्जको सिमा क्षेत्र सल्यानमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर ७ घुईयाबारी नजिक पर्सेनी घरभएकी ४२ वर्षीया धनसरी रावतको मृत्यु भएको हो । दाउरा काट्न गएका बेला बाघको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

ति महिला शुक्रबार बिहान ८ बजे घरदेखि नजिकै हरियाली सामुदायिक वनमा दाउरा काट्न गएकी थिइन् । शुक्रबार दिउँसो साढे ३ बजेतिर बाघले आक्रमण गरी जंगलतिर घिसार्दै लगेको स्थानीयले बताएका छन् । घटना लगत्तै प्रहरी र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोलीले खोजी गर्दा घरदेखि ५ सय मिटर पर झाडीमा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी हेमबहादुर केसीका अनुसार बाघले एउटा खुट्टा खाएको अवस्थामा शव फेला परेको छ । कालीमाटी–७ का वडाअध्यक्ष मित्रलाल रिजालले बाँके राष्ट्रिय निकुन्ज नजिकै भएकाले जंगलमा दैनिकजसो बाघ देखिने गरेको बताएका छन् । बाघको त्रासका कारण यहाँका गाउँहरु उच्च जोखिममा रहेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले सल्यानमा पनि बाघले महिलालाई मारेको घटना जानकारीमा आएको बताए । २०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज बाँकेसहित दाङ र सल्यान जिल्लासम्म फैलिएको छ । अघिल्लो शनिबार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

उक्त घटना भएको चार दिनपछि पनि बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भएको थियो । बाँसगढी नगरपालिका वडा नम्बर १ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वन क्षेत्रमा महिलाको शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्