अब्बल कर्मचारी तथा श्रमिक नेता टिएन रावतको निधन – Buletnews
अब्बल कर्मचारी तथा श्रमिक नेता टिएन रावतको निधन

टिएन रावत शिक्षण अस्पतालका कर्मचारी मात्र नभई जिफण्ट बाँके जिल्लाका सक्रिय नेता

  • बुलेट न्युज

कोहलपुर, बाँके:  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरका अब्बल कर्मचारी टिएन (तोयानाथ) रावतको निधनले अस्पताल परिवार मात्र होइन, बाँके जिल्लाकै श्रमिक तथा कर्मचारी आन्दोलन शोकमा डुबेको छ। अस्पतालको भौतिक पूर्वाधार निर्माण कालदेखि नै निरन्तर सेवा दिँदै आएका रावतको गत राति उनै कार्यरत अस्पतालमा उपचारका क्रममा दुःखद निधन भएको हो।

लेखापालको पदबाट सेवा यात्रा सुरु गरेका रावत पछिल्लो समय शिक्षण अस्पतालका अधिकृतका रूपमा कार्यरत थिए। सामाजिक सुरक्षा, स्वास्थ्य बीमा लगायत संवेदनशील तथा जिम्मेवारीपूर्ण फाँटमा कार्यरत रहँदै उनले कर्मचारी र श्रमिकको हकहितका लागि सदैव निष्ठापूर्वक भूमिका निर्वाह गरे। लामो समय कर्मचारी युनियनको अध्यक्षका रूपमा रहेर उनले श्रमिक वर्गको बुलन्द आवाज बनेर नेतृत्व गरे।

सरल स्वभाव, नम्र बोली र सबैलाई अपनत्व दिने व्यक्तित्वका धनी रावत “आँखामा नबिझाउने पात्र” रहेको उनका सहकर्मी चन्द्र केसीले स्मरण गर्दै भने, “मैले आज सहयोगी मात्र होइन, सहकार्य र साझेदारीको एक अमूल्य हिस्सा गुमाएको महसुस गरेको छु।”

गत राति नै निधन भए पनि उनका दुवै छोरा विदेशमा रहेकाले पार्थिव शरीर हाल शिक्षण अस्पतालको शवगृहमा राखिएको मृतकका सहोदर दाजु हेमकुमार रावतले जानकारी दिएका छन्। कान्छो छोरा आइपुगिसकेको र जेठो छोरा भोलि बिहान मात्र आइपुग्ने भएकाले अन्त्येष्टि बाँकेको अगैया घाटमा गरिने उनले बताए।

अस्पताल प्रशासनका अनुसार भोलि मंगलबार बिहान टिएन रावत कार्यरत शिक्षण अस्पताल कोहलपुरमा श्रद्धाञ्जली सभा आयोजना गरिनेछ। बिहान ९ बजेदेखि साढे ९ बजेसम्म अस्पताल परिसरमा पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम तय गरिएको छ। त्यसपछि पार्थिव शरीरलाई कोहलपुर–१०, बिद्यानगरस्थित निजि निवासमा लगिनेछ। हिन्दु परम्पराअनुसार घरमै श्रद्धाञ्जली अर्पणपछि करिब ११ बजे अन्त्येष्टिका लागि अगैया घाट लगिने परिवारले जनाएको छ।

टिएन रावत शिक्षण अस्पतालका कर्मचारी मात्र नभई जिफण्टका नेताका रूपमा बाँके जिल्लामा सक्रिय थिए। उनी कोहलपुर नगरपालिकाका संस्थापक नगर प्रमुख लुटबहादुर रावतका कनिष्ठ सुपुत्र हुन्। उनकी धर्मपत्नी विष्णु रावत शिक्षकको रूपमा कार्यरत छिन् भने दुई छोरामध्ये कान्छो अष्ट्रेलिया र जेठो छोरा दुबईमा बसोबास गर्दै आएका छन्।

रावतको निधनले एक इमान्दार कर्मचारी, निष्ठावान नेता र सरल मानवको अभाव सधैं खड्किरहनेछ। उनको योगदान र सम्झना अस्पताल, कर्मचारी र श्रमिक मनमा अमर रहने बिस्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्