दाङ: दाङलगायत पश्चिमका थारू गाउँमामाघको रौनक छ । रातभरी ढुम्रु गीत गाएपछि अहिले कोही नजिकैको खोला तथा बबई नदीमा स्नान गरेर फर्किरहेका छन् भने कोही स्नानका लागि बबईतिर गइरहेका छन् ।
थारू समुदायमा माघ १ गते बिहान गाउँ नजिकैका खोला, पोखरी, तालतलैया तथा बबई नदीमा पुगेर स्नान गर्ने चलन छ । स्नानपछि घर फर्केर चामल, नुन र मासलाई दुबै हातले तीन–तीन पटक निकालेर अर्काे टपरीमा राखिन्छ, जसलाई निस्राउ भनिन्छ । त्यसपछि ठूलाबडासँग आशीर्वाद लिने र घरपरिवारसँगै मिठोमिठो परिकार खाने परम्परा रहेको दंगीशरण गाउँपालिका–३ हेकुलीका भीमबहादुर चौधरीले बताए ।
यस्तै, खोलाबाट स्नान गरेर फर्किँदै गरेका सोही स्थानका युवा लोकमान चौधरीले माघका दिन नुहाउँदा वर्षभरी गरेका गल्ती र पाप पखालिने तथा मन शुद्ध हुने विश्वास रहेको बताए।
“माघ हाम्रो महान पर्व मात्र नभई नयाँ वर्ष पनि हो,” उनले भने, “अन्य पर्वभन्दा फरक महत्वका साथ हामी माघ मनाउँछौं ।” माघमा खानपानसँगै नाचगान गरी उत्सवको रुपमा मनाइने गरेको उनको भनाइ छ । साथै माघी डेवानी मार्फत मटाँवा र बरघरको घरमा गत वर्षको समीक्षा, आगामी कार्ययोजना निर्माण तथा गाउँका मटाँवा र बरघर (प्रमुख) चयनजस्ता महत्त्वपूर्ण निर्णयसमेत गरिने परम्परा रहेको उनले जानकारी दिए।
माघको तयारी
थारू समुदायले माघ पर्वको तयारी माघ आउनुभन्दा करिब दुई हप्ता अगावै सुरु गर्छन् । माघका लागि ढिक्री, रोटी, बनाउनका लागि पिठो पिसाउने, जाँड बनाउने, बनाउन दाउरा र पात सङ्कलन गर्ने गर्दछन् । यस्तै घरआँगन सरसफाइ गर्ने, घर पोत्ने, दुना–टपरी बनाउने, मासुका लागि सुंगुर, माछा जुटाउनेजस्ता काम गरिन्छ । त्यसैगरी माघमा माघौटा नाचका लागि मादल, मन्जौरा र नाच्ने पहिरन लहंगा तयारी गरिन्छ ।
कसरी मनाइन्छ माघ
माघको सबै तयारी सकेपछि पुसको अन्तिम दिन बेलुका गाउँका अगुवा मटावाको घरमा भेला हुन्छन् । सबै जम्मा भएपछि रातभरि ढुम्रु गीत गाइन्छ । भोलिपल्ट माघ १ गते बिहान सबेरै ढुम्रु गीत गाउँदै मघौटा नाच नाच्दै गाउँका पुरुषहरू नजिकैको खोला वा तालतलैयामा सामूहिक स्नान गर्न जान्छन् ।
स्नानपछि घर फर्केर बैठक कोठामा राखिएको मास, चामल र नुनलाई तीन–तीन पटक निकालेर अर्काे टपरीमा राखिन्छ, जसलाई थारू भाषामा निस्राउ कहर्ना भनिन्छ । त्यसपछि ठूलाबडासँग ढोग गरी आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने चलन छ । माघका दिन घरपरिवारका सबै सदस्य एउटै कोठामा बसेर ढिक्री, मासु, तरुललगायत परिकार खाँदै सुख–दुःख साटासाट गर्छन् । साथै वर्षभरी गर्ने काम र जिम्मेवारीबारे पारिवारिक कचहरी पनि गरिन्छ ।
माघी डेवानी
यस्तै, घरमा छलफल पश्चात गाउँका गरधुरया (घरमुली) हरु मटाँवा, बरघरको घरमा जुट्ने गर्दछन् । त्यही दिन सबै गरधुर्याहरुले मटाँवा चयन गर्ने गर्दछन् । यस्तै मटाँवाले वर्षदिनमा भएका कामको विषयमा लिखित अलिखित प्रतिवेदन पेश गर्छन् र सोही अनुसार बितेको वर्षको कामको लेखाजोखा गर्ने, के कति काम सम्पन्न भयो, के के काम गर्न बाँकी छ, त्यसको समीक्षा गर्नुको साथै आगामी वर्षका लागि वार्षिक कार्ययोजना बनाउने गरिन्छ ।
घर–घरमा मघौटा नाच
यसैगरी, माघमा बालबालिकादेखि वृद्धवृद्धासम्मले आ–आफनो समूह बनाएर घर–घरमा पुगेर मघौटा नाच्ने गर्दछन् ।
बाबाकी सगरवा मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा सखिए हो, टोपिया छुटल पानी घाट, सखिए हो । यसरी गीत गाउँदै नाच्दै घर घरमा पुगेर थारू समुदायले ‘माघ’ को शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।











