समृद्धिका लागि एमाले नेतृत्व अपरिहार्य : पोखरेल – Buletnews
आफ्ना योजनाहरु समृद्ध र सुदृढ बनाउने दिशामा निर्णायक
समृद्धिका लागि एमाले नेतृत्व अपरिहार्य : पोखरेल

नेपाल आफ्नै स्रोत–साधनको उपयोग गर्दै आत्मनिर्भर बन्ने दिशामा अघि बढ्न थालेपछि केही शक्ति राष्ट्रहरूलाई असहज

  • बुलेट न्युज

दाङ: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि, आत्मनिर्भरता र दिगो विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताएका छन।

माघे सङ्क्रान्तिको अवसरमा दाङमा आयोजित कार्यक्रममा उनले एमाले नेतृत्वमा प्राकृतिक स्रोतको उत्खननदेखि ठुला पूर्वाधार, शिक्षा र ऊर्जा क्षेत्रमा ऐतिहासिक कामहरू अघि बढाइएका कारण मुलुक विकासको सही दिशामा अघि बढेको बताएका हुन ।

महासचिव पोखरेलका अनुसार एमाले नेतृत्वको सरकारका पालामा दैलेखको पेट्रोलियम खानी, नवलपरासीको फलाम खानी तथा मुस्ताङको युरेनियम खानीको उत्खनन र अध्ययन कार्य सुरु गरिएको हो । नेपाल आफ्नै स्रोत–साधनको उपयोग गर्दै आत्मनिर्भर बन्ने दिशामा अघि बढ्न थालेपछि केही शक्ति राष्ट्रहरूलाई असहज भएको बताए ।

पूर्वाधार विकासतर्फ दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माण तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले यसअघि भारतीय एक्जिम बैंकको ऋणमा भएको सम्झौता कार्यान्वयनमा जटिलता आएपछि परियोजना अल्झिएको समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल सरकारकै बजेटबाट निर्माण प्रक्रिया अघि बढाएर परियोजनालाई गति दिएको उनको भनाइ छ ।

शिक्षा क्षेत्रमा एमाले नेतृत्वको सरकारले ठोस पहल गरेको उल्लेख गर्दै महासचिव पोखरेलले दाङमै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ कलेज सञ्चालनमा आएको जानकारी दिए । यसले स्थानीय युवालाई प्राविधिक शिक्षामा पहुँच बढाएको उनको भनाइ छ ।

त्यस्तै, दाङमा महाभारत पर्वतबाट बग्ने खोलामा ड्याम बाँधेर जलाशय निर्माणको काम सुरु भइसकेको उल्लेख गर्दै उनले यसले सिँचाइ, ऊर्जा उत्पादन र समग्र विकासमा दीर्घकालीन टेवा पुग्ने विश्वास व्यक्त गरे । एमाले नेतृत्वमा अघि बढाइएका यी योजनाहरूले मुलुकलाई आत्मनिर्भर, समृद्ध र सुदृढ बनाउने दिशामा निर्णायक योगदान दिने महासचिव पोखरेलको दाबी थियो।

प्रतिक्रिया दिनुहोस्