बाँके २ का स्वतन्त्र उम्मेदवार सौभाग्यजंग- विकासदेखि सुशासनसम्म ५ एजेन्डासहित मैदानमा – Buletnews
बाँके २ का स्वतन्त्र उम्मेदवार सौभाग्यजंग- विकासदेखि सुशासनसम्म ५ एजेन्डासहित मैदानमा

‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे‘’ भन्ने भावनात्मक सन्देशसहित होमिय चुनावी मैदानमा शाह

  • बुलेट न्युज

 

“माता बागेश्वरीको कसम खाएर भन्छु—तपाईंहरूको बलिदान खेरा जाने छैन,” उनले भने। उनले आफ्नो यो यात्रा व्यक्तिगत मात्र नभई सम्पूर्ण जनताको लडाइँ भएको उल्लेख गर्दै भ्रष्टाचार, कुशासन र दलीय राजनीतिबाट उत्पन्न जटिल समस्याविरुद्धको संघर्षमा अघि बढ्न आएको उनको भनाइ थियो ।

शाहले मुख्य पाँच बुँदामा आफ्ना एजेण्डा अगाडि सारेका छन् । पहिलो उनले आफूलाई जनताको उम्मेदार भन्ने गरेका छन् । जनताको उमेदवार भन्ने प्रतिबद्धतासहित उनले कुनै विशेष दलको ह्वीप हैन जनताको ह्वीप मान्ने बताएका छन्। संसदमा उनका निर्णय जनताको आवाज बन्ने र गलत काममा सरकार होस् वा विपक्ष—सबैलाई प्रश्न गर्ने उनको भनाइ छ।

दोस्रोमा सुशासन र भ्रष्टाचारको अन्त्यलाई राखेका छन् । भ्रष्टाचारमा शून्य सहनशीलता, शक्तिशाली व्यक्तिहरू पनि कानुनभन्दा माथि नहुने व्यवस्था, पारदर्शी शासन, डिजिटल सेवा र सार्वजनिक खर्चको खुला विवरण उनको प्राथमिकतामा छन्। त्यसैगरी रोजगार र आत्मनिर्भर अर्थतन्त्रलाई तेस्रो नम्बरमा राखेका छन् ।

युवालाई देशमै रोजगारी सिर्जना गर्ने ठोस कार्यक्रम, कृषि, पर्यटन, साना उद्योग र स्टार्टअपलाई प्राथमिकता, साथै वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानजनक बनाउने नीति उनको एजेन्डामा समेटिएको छ।

चौथोमा शिक्षा र स्वास्थ्यमा सबैको पहुँचमा राखेका छन् । गुणस्तरीय सार्वजनिक शिक्षा सबैका लागि, आधारभूत स्वास्थ्य सेवा निःशुल्क र पहुँचयोग्य बनाउने तथा शिक्षा र स्वास्थ्यलाई व्यापार होइन, अधिकारका रूपमा स्थापित गर्ने लक्ष्य उनले अघि सारेका छन्।

पाँचौमा आधारभूत पूर्वाधार र सन्तुलित विकासलाई उनले समेटेका छन् । सडक, खानेपानी, बिजुली र इन्टरनेट गाउँ–गाउँसम्म पुर्‍याउने, विकासमा क्षेत्रीय तथा सामाजिक असमानताको अन्त्य गर्ने र दीर्घकालीन, दिगो तथा वातावरणमैत्री विकासमा जोड दिने उनको भनाइ छ।

स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका सौभाग्यजंग शाहले आफ्नो अभियानलाई बाँके क्षेत्र नम्बर २ का जनताले ‘परिवर्तनको संवाहक’का रूपमा लिएको र आफूले पनि जनताको विश्वास र सहभागितालाई नै सबैभन्दा ठूलो शक्ति मानेको बताए।

 

प्रतिक्रिया दिनुहोस्