शमशेरगञ्ज खुल्ला फुटबल प्रतियोगिताको उपाधि न्युजन परोपकारी युवा क्लबलाई – Buletnews
शमशेरगञ्ज खुल्ला फुटबल प्रतियोगिताको उपाधि न्युजन परोपकारी युवा क्लबलाई
  • बुलेट न्युज

बाँके: बाँकेको राप्ती सोनारी गाउँपालिका–८ शमशेरगञ्ज केही दिनसम्म खेलकुदमय वातावरणमा रमाएको छ। “राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजित दोस्रो शमशेरगञ्ज खुला फुटबल प्रतियोगिता २०८२  भव्य, सभ्य र अत्यन्त उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

माघ १६ गतेदेखि सुरु भएको यस प्रतियोगिताले शमशेरगञ्जलाई मात्र होइन, आसपासका क्षेत्रलाई समेत खेलकुदको केन्द्रका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ। प्रतियोगितामा २३ टिमका ३६८ जना खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो, जसले स्थानीयदेखि बाहिरी जिल्लासम्मका फुटबलप्रेमीहरूलाई आकर्षित गरेको थियो ।

प्रतियोगिताभरि खेलाडीहरूले अनुशासन, मेहनत र खेल भावना प्रस्तुत गरेका थिए। प्रत्येक खेलमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो भने खेल मैदान उत्साह, समर्थन र तालीले गुञ्जायमान बनेको थियो। आयोजकका अनुसार प्रतियोगिता अत्यन्त मर्यादित, प्रतिस्पर्धात्मक र खेल भावना अनुरूप सञ्चालन गरिएको थियो।

फाइनल खेलले प्रतियोगिताको आकर्षणलाई चरममा पुर्‍याएको थियो। अन्तिम प्रतिस्पर्धामा न्यू जनपरोपकारी युवा क्लब निबुवाटार र सुपरस्टार युवा क्लब लटिनिया, बाँके आमनेसामने भएका थिए। दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि निर्धारित समयमा निबुवाटारले लटिनियालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो।

उपाधि जितेसँगै न्यू जनपरोपकारी युवा क्लब निबुवाटारले रु ५५,५५५ नगद, प्रमाणपत्र, मेडल तथा ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको सुपरस्टार युवा क्लब लटिनियाले रु ३३,३३३ नगद, प्रमाणपत्र, मेडल र ट्रफी हात पारेको छ।

प्रतियोगितामा खेलाडीहरूको व्यक्तिगत उत्कृष्टता मूल्याङ्कन गर्दै विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिएको थियो। फाइनल खेलको म्यान अफ द म्याच निबुवाटारका अभिषेक बुढा मगर घोषित भए। त्यस्तै, उत्कृष्ट प्रदर्शनका आधारमा बेस्ट गोलकिपर निबुवाटारकै कमल खड्का, टप गोल स्कोरर लटिनियाका विपिन सिंह ठकुरी तथा प्लेयर अफ द टुर्नामेन्ट लटिनियाका केशवमान घर्ती घोषित भए।

आयोजक समितिले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, निर्णायक, सुरक्षाकर्मी, स्वयंसेवक, प्रायोजक तथा दर्शकहरूप्रति धन्यवाद ज्ञापन गरेको छ। प्रतियोगिताले स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्नुका साथै लागूपदार्थ दुरुपयोग र नकारात्मक गतिविधिबाट टाढा राख्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्