दशौँ संस्करणको टी-२० विश्वकप आजदेखि, पहिलो खेल पाकिस्तान र नेदरल्याण्ड्सबीच – Buletnews
प्रतियोगितामा कुल ५५ खेल हुने
दशौँ संस्करणको टी-२० विश्वकप आजदेखि, पहिलो खेल पाकिस्तान र नेदरल्याण्ड्सबीच

कुल २० राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने यो छोटो फर्म्याटको विश्वकप करिब एक महिनासम्म (मार्च ८ सम्म) चल्ने

  • बुलेट न्युज

अन्य खेलहरूमा वेस्ट इन्डिज र स्कटल्यान्ड (कोलकाताको इडेन गार्डेन्समा) तथा आयोजक भारत र अमेरिकाबीच (मुम्बईको वानखेडे स्टेडियममा) प्रतिस्पर्धा हुनेछ। भारतले यहीँ उद्घाटन समारोहसँगै आफ्नो उपाधि रक्षा अभियान शुरु गर्नेछ।

यो संस्करणमा राजनीतिक तनावले पनि प्रभाव पारेको छ। पूर्ण सदस्य राष्ट्र बंगलादेशले भारतीय भूमिमा खेल नखेल्ने अडान लिएपछि उनीहरू विश्वकपबाट बाहिरिएका छन्। आइसिसीले बंगलादेशको स्थानमा स्कटल्याण्डलाई समावेश गरेको छ।

यो निर्णय आइपीएलमा बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई हटाइएपछि भारत बंगलादेश सम्बन्ध चिसिएसँग जोडिएको छ। यसले दक्षिण एसियाली क्रिकेटमा राजनीतिक प्रभावको इतिहासलाई दोहोर्‍याएको छ।

कुल २० राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने यो छोटो फर्म्याटको विश्वकप करिब एक महिनासम्म (मार्च ८ सम्म) चल्नेछ। प्रतियोगितामा कुल ५५ खेल हुनेछन्। २० टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा पाँच टोली छन्, जसले एकअर्कासँग एक९एक खेल खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।

सुपर आठमा दुई समूह रहने छन् (प्रत्येकमा चार टोली), जहाँ पनि राउन्ड रोबिन फर्म्याटमा खेल हुनेछ। यहाँबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् र विजेताहरू फाइनलमा भिड्ने छन्।

खेलहरू भारतका पाँच शहर (मुम्बई, कोलकाता, चेन्नई, दिल्ली, अहमदाबाद जस्ता प्रमुख मैदान) र श्रीलंकाका तीन मैदानहरू (कोलम्बोमा आर. प्रेमदासा र एसएससी तथा पल्लेकेले) मा सञ्चालन हुनेछन्। कुल आठ मैदान प्रयोगमा आउनेछन्।

फाइनल मार्च ८ मा अहमदाबाद वा कोलम्बोमध्ये एकमा हुनेछ (पाकिस्तान फाइनलमा पुगे पाकिस्तानका खेल श्रीलंकामा मात्र हुने व्यवस्था छ)।

डिफेन्डिङ च्याम्पियन भारत (२०२४ मा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको) ले घरेलु मैदानमा ऐतिहासिक तेस्रो उपाधि खोज्दै छ।

प्रतिक्रिया दिनुहोस्