प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार लोगोमा नेपालको राष्ट्रिय झण्डा, वनजंगल, हिन्दु तथा मुस्लिम समुदायका धार्मिक स्थल, गाई–भैँसी, हरियाली जमिन र गाउँपालिकाको नक्सा समावेश गरिएको छ । यी सङ्केतहरूले पालिकाको धार्मिक सद्भाव, कृषि र प्राकृतिक सम्पदालाई प्रतिनिधित्व गर्छन् ।
त्यसैगरी वरिष्ठ लेखा अधिकृत भरत बस्नेतले लोगोमा रैथाने बाली, गहुँ तथा विकासको प्रतीकका रूपमा सडक सङ्केत गरिएको जानकारी दिए । लोगो कार्यान्वयनमा आएसँगै गाउँपालिकाको पहिचान थप प्रष्ट र बलियो बनेको उनको भनाइ छ । लोगो निर्माणका लागि खुला प्रतिस्पर्धा गराई इच्छुक सर्जकहरूबाट डिजाइन सङ्कलन गरिएको थियो ।
पालिकाका इन्जिनियर प्रविन श्रेष्ठको नेतृत्वमा अन्तिम रूप दिइएको उक्त लोगो जनमुखी र अर्थपूर्ण रहेको भन्दै स्थानीयवासीले प्रशंसा गरेका छन् । स्थानीय तह गठन भएको झण्डै नौ वर्षपछि नरैनापुर गाउँपालिकाले आफ्नै आधिकारिक लोगो सार्वजनिक गरेको हो, जसलाई पालिकाको पहिचान निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।











