गोरखा रजत सम्मानद्वारा ७ जना पत्रकार सम्मानित – Buletnews
गोरखा रजत जयन्ती २०८२
गोरखा रजत सम्मानद्वारा ७ जना पत्रकार सम्मानित

शिक्षा क्षेत्रको समग्र उन्नतिमा पत्रकार र पत्रकारिताको अमूल्य योगदान : आले मगर

  • बुलेट न्युज

कोहलपुर (बाँके) : विद्यालयको शैक्षिक, सामाजिक तथा रचनात्मक गतिविधिलाई जिम्मेवार, तथ्यपरक र सकारात्मकरुपमा पत्रकारितामार्फत उजागर गर्दै विद्यालयको पहिचान र गरिमा अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बाँकेको कोहलपुर २ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नाे रजत जयन्तीको अवसरमा बाँकेमा क्रियाशील  ७ जना पत्रकारलाई ‘गोरखा रजत सम्मान’ २०८२ बाट सम्मान गरेको छ।

यसरी सम्मानित हुने पत्रकारहरूमा दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरे, अन्नपूर्ण पोस्टका उप–सम्पादक शंकर खनाल,
कालपृष्ठ दैनिकका सम्पादक कमल खत्री, बुलेट न्युज अनलाइनका कार्यकारी प्रमुख प्रमोद रिजाल, काँचुली खबर अनलाइनका प्रकाशक संगिन शर्मा, मिसन टुडे दैनिकका प्रकाशक विनोद पौडेल तथा
कोहलपुर ग्यालरी अनलाइनका विकल भट्टराई रहेका छन्।


मंगलबार विद्यालय परिसरमा आयोजित विशेष समारोहमा विद्यालयका संस्थापक सञ्चालक अध्यक्ष केशर बहादुर आले मगर, प्रधानाध्यापक साधना थापा र सह–प्रधानाध्यापक बद्री प्रसाद शर्माले सम्मानित पत्रकारहरूलाई कदरपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै संस्थापक सञ्चालक अध्यक्ष आले मगरले समाज परिवर्तनका संवाहक पत्रकारहरूलाई सम्मान गर्न पाउँदा गर्वको अनुभूति भएको उल्लेख गर्दै शिक्षा क्षेत्रको समग्र उन्नतिमा पत्रकारिताको अमूल्य योगदान रहेको बताए।

उनले २०६० को दशकताका विद्यालयले भोग्नुपरेका चुनौतीहरू स्मरण गर्दै होटलमा परीक्षा सञ्चालन गर्नुपरेको अवस्था, विद्यालय परिसर शान्ति क्षेत्र घोषणा भइसकेको अवस्थामा समेत भएको बम विस्फोटजस्ता घटनाहरू राष्ट्रिय मुद्दा बन्नुमा सञ्चार माध्यमको निर्णायक भूमिका रहेको चर्चा गरे।

उक्त समाचारकै कारण विद्यालयको साहसी कदमले देशव्यापी प्रशंसा मात्र नभई सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सफल भएको उनले बताए।

आले मगरले आगामी दिनमा विद्यालय र सञ्चारकर्मीबीच निरन्तर अन्तरक्रिया र सहकार्यलाई प्राथमिकतामा राख्दै, आफ्नो पाँचवर्षे योजनाअन्तर्गत अक्षयकोष स्थापना गरी शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारलाई प्रत्येक वर्ष सम्मान गर्ने योजना रहेको जानकारी पनि दिए।

कार्यक्रममा विद्यालयका शैक्षिक सल्लाहकार राजेन्द्र गुरुङ, प्रशासकीय अधिकृत कर्णबहादुर बस्नेत, स्टोर प्रमुख पुष्पराज लम्साल, संगीत प्रशिक्षक नविन घर्ती लगायतको उपस्थिति रहेको थियो। साथै विद्यालयलाई प्राविधिक सहयोग पुर्‍याउने विनोद लाइट तथा टेन्ट हाउसका सञ्चालक बाउर तमौलीलाई पनि सम्मान गरिएको थियो।

शैक्षिक  सुपरभाईजर भद्र शाहिले सञ्चालन गरेको ‘गोरखा रजत सम्मान’ कार्यक्रममा सम्मानितको तर्फबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरे र महासंघका पूर्व कोषाध्यक्ष विनोद पौडेलले आफ्ना धारणा व्यक्त गर्दै विद्यालयको खुलेर प्रशंसा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्