नमुना विद्या सदनको उर्जाशील १९औँ वसन्त : शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान – Buletnews
१९ औं वसन्त पार गर्दै अब २० औं बर्षमा नमुना स्कुल
नमुना विद्या सदनको उर्जाशील १९औँ वसन्त : शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान

सिंगो बाँके जिल्लाको शैक्षिक जगतमा विशिष्ट पहिचान बनाउन सफल नमुना बिद्या सदन

  • बुलेट न्युज

बाँके: नमुना विद्या सदन, कोहलपुर–८, बाँकेले आफ्नो गौरवपूर्ण यात्रा पार गर्दै १९औँ वर्ष सफलतापूर्वक सम्पन्न गरी २०औँ वसन्तमा प्रवेश गरेको छ। स्थापना कालदेखि नै शैक्षिक गुणस्तर, अनुशासन र समग्र विकासलाई मूल मन्त्र बनाउँदै आएको यस विद्यालयले आज सिंगो बाँके जिल्लाको शैक्षिक जगतमा विशिष्ट पहिचान बनाउन सफल भएको हो।


१९औँ वार्षिकोत्सव, अभिभावक भेला तथा खाना, विज्ञान, कला, शिल्प र सांस्कृतिक प्रदर्शनीको अवसरमा आयोजित विशेष समारोहले विद्यालयको उन्नत यात्रा झल्काएको थियो। कार्यक्रममा प्रमुख अतिथिका एवं कोहलपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष  लाल बहादुर रानाले विद्यालयले शैक्षिक उत्कृष्टताको उदाहरण प्रस्तुत गर्दै बाँकेको शिक्षा क्षेत्रमा दरिलो आधार खडा गरेको बताए। उनले बीएलई, एसईई र अतिरिक्त क्रियाकलापमा प्राप्त उत्कृष्ट नतिजाको मुक्तकण्ठले प्रशंसा गर्दै निजी र सरकारी विद्यालयबीच भेदभाव नगरी समग्र शैक्षिक उन्नयनमा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले बालबालिकाको भविष्य निर्माणमा विद्यालय मात्र होइन, अभिभावकको सक्रिय भूमिका उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै अनुशासन र संस्कारको जग घरबाटै बलियो बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजारले विद्यालयले सामाजिक सचेतनामा खेलेको अग्रणी भूमिकाको प्रशंसा गरे। उनले प्रविधियुक्त युगमा विद्यार्थीहरू प्रविधिको सदुपयोग गर्दैछन् कि दुरुपयोग—यसको पहिचान र मार्गदर्शन अभिभावकले गर्नुपर्ने आवश्यकता औँल्याए। “केवल शुल्क तिरेर जिम्मेवारी विद्यालयमा सुम्पनु पर्याप्त हुँदैन,” उनले भने, “बालबालिकालाई समय र दिशानिर्देश दिनु अभिभावकको प्रमुख कर्तव्य हो।”

परीक्षा नियन्त्रण कार्यालय, कोहलपुरका प्रमुख गोपाल के.सी.ले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सुमधुर सम्बन्ध नै शैक्षिक सफलताको मूल आधार भएको बताए। यी तीन पक्षबीच तालमेल नहुँदा नतिजामा गिरावट आउन सक्ने चेतावनी दिँदै उनले नमुना विद्या सदनले जिल्लाकै उत्कृष्ट विद्यालयको छवि कायम राखेको उल्लेख गरे।

विद्यालयका प्रिन्सिपल सुदन गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक वर्ष २०८२ मा बीएलई, एसईई र कक्षा १२ (एनईबी) परीक्षामा उल्लेखनीय नतिजा हासिल भएको जानकारी दिए। उनले विद्यार्थीहरूको शैक्षिक दक्षता, अनुशासन र निरन्तर परिश्रमको उच्च प्रशंसा गर्दै विद्यालयले विशेष कोचिङ कक्षा, नियमित मूल्यांकन, व्यक्तिगत परामर्श, विषयविज्ञहरूको व्याख्यान तथा सीपमूलक तालिम सञ्चालन गरिरहेको बताए। स्मार्टबोर्ड तथा आधुनिक कम्प्युटरकृत कक्षा प्रणालीमार्फत शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाइएको उनले उल्लेख गरे।

खेलकुदतर्फ भलिबलमा उत्कृष्ट प्रदर्शनले विद्यालयको शान उचो पारेको छ भने एथलेटिक्स, मार्शल आर्ट, साहित्यिक तथा सांस्कृतिक प्रतियोगितामा समेत उल्लेखनीय सफलता प्राप्त भएको छ। विद्यालयले विद्यार्थीहरूलाई चार सदनमा विभाजन गरी आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्व, सिर्जनशीलता र नवप्रवर्तन क्षमताको विकासमा विशेष ध्यान दिँदै आएको छ।

विज्ञान प्रदर्शनी, सांस्कृतिक उत्सव, नेतृत्व विकास कार्यक्रम, पाककला सिकाइ तथा विद्यार्थीको रुचिअनुसारका अतिरिक्त क्रियाकलापहरूले विद्यालयलाई केवल ‘पढन्ते’ होइन, जीवनोपयोगी शिक्षा प्रदान गर्ने संस्थाका रूपमा स्थापित गरेको छ।

कार्यकारी निर्देशक शिव डाँगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विविध परिकारहरूको प्रदर्शनी, विज्ञानका नमुना, नाटक तथा सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा उजागर गरे। राउटे, थारु र मारुनी नाचदेखि सामूहिक तथा एकल नृत्यसम्मका प्रस्तुतीहरूले कार्यक्रमलाई जीवन्त र रंगीन बनाएका थिए ।

कक्षा ६ की छात्रा आरोही अधिकारीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको समारोहमा कक्षा ५ का बालबालिकाहरूले सरस्वती वन्दना अत्यन्तै कलात्मक शैलीमा प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन कक्षा ९ की उर्मिला बिसी र कक्षा १० की पूर्णिमा शर्माले आत्मविश्वासपूर्ण ढंगले गरेका थिए।

बिद्यालयमा आयोजित उत्सवले स्पष्ट सन्देश दिएको छ नमुना विद्या सदन केवल एक विद्यालय मात्र होइन, बाँकेको शैक्षिक उन्नयनको उज्यालो दीपस्तम्भ हो एक अभिभावकले भने । १९ वर्षको यात्राले अनुभव, उपलब्धि र विश्वासको बलियो जग निर्माण गरेको छ भने २०औँ वसन्तले अझ उन्नत, समावेशी र गुणस्तरीय शिक्षातर्फको नवीन संकल्प बोकेको कुरामा निर्देशन डाँगी बिस्वस्त रहेका छन ।

प्रतिक्रिया दिनुहोस्