कोहलपुर, बाँके: ‘प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२’ को उद्घाटन खेलमा ट्री गार्डेन रिसोर्ट बैजनाथ र कोहलपुर नगरपालिका कर्मचारी टिम विजयी भएका छन् । ट्री गार्डेन रिसोर्ट बैजनाथले ग्रीन पिस सेकेन्डेरी स्कुललाई र कोहलपुर नगरपालिका कर्मचारी टिमले जन ज्ञान ज्योति स्कुललाई हराउँदै विजयी भएका हुन् । कोहलपुर न्यूरोडस्थित खुला मैदानमा जारी प्रतियोगिता अन्तर्गत आजको उद्घाटनको पहिलो दिनको खेलमा ट्री गार्डेन रिसोर्ट बैजनाथले ग्रीन पिस विरुद्ध २–१ सेटको रोमाञ्चक जित निकालेको हो ।
पहिलो सेट २५–२३ ले जितेको ट्री गार्डेन रिसोर्टले दोस्रो सेट १६–२५ ले गुमाएर अन्तिम सेटमा पुनरागमन गरेर १५–१३ ले ग्रीन पिसलाई हराएर नतिजा आफ्नो पक्षमा पारेको छ । यस्तै प्रतियोगिताको दोस्रो खेलमा कोहलपुर नगरपालिका कर्मचारी टीमले जन ज्ञान ज्योति स्कुललाई २–१ सेटले हराएको हो । पहिलो सेट २५–१६ ले जितेको कर्मचारी टिमले दोस्रो सेट २५–१९ ले गुमाएर अन्तिम सेटमा पुनरागमन गरेर १५–१२ ले जन ज्ञान ज्योति स्कुललाई हराउँदै विजयी सुरुवात गरेको छ ।
कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा आजदेखि कोहलपुर न्यूरोडस्थित खुलामैदानमा सञ्चालन प्रतियोगितामा आज दुई वटा मात्रै खेल भएका थिए । प्रतियोगिताको कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले खेल रेफ्रिलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा भलिबल टिम सहभागी रहेका छन् । प्रथम हुने टिमलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी द्वितीय टिमलाई ३० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुने छ ।











