बाँकेको कोहलपुरमा युवाहरुको शक्त्ती प्रदर्शन “नाम पनि सुर्य भोट पनि सुर्य भन्दै” सडकमा – Buletnews
बाँकेको कोहलपुरमा युवाहरुको शक्त्ती प्रदर्शन “नाम पनि सुर्य भोट पनि सुर्य भन्दै” सडकमा
  • बुलेट न्युज

बाँके:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन क्षेत्र नं. १ युवा परिचालन कमिटीको आयोजनामा कोहलपुरमा बृहत् युवा भेला उत्साहजनक सहभागिता, व्यापक उपस्थिति तथा उल्लेखनीय शक्ति प्रदर्शनसहित सम्पन्न भएको छ।

क्षेत्र नं. १ अन्तर्गतका विभिन्न वडा तथा पालिकाबाट सयौँ युवाहरूको सहभागिता रहेको उक्त कार्यक्रम पार्टीका झण्डा, ब्यानर र नाराले सुसज्जित थियो। सहभागी युवाहरूले पार्टीप्रति ऐक्यबद्धता जनाउँदै उत्साहपूर्ण नाराबाजी गरेका थिए।

युवाशक्ति नै राष्ट्र निर्माणको आधार : शान्ति ढकाल

भेलाका प्रमुख अतिथि एबं एमाले बाँके इन्चार्ज शान्ति ढकालले युवाशक्ति नै राष्ट्र निर्माणको प्रमुख आधार भएको उल्लेख गर्दै वर्तमान राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थालाई सुदृढ बनाउन युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्।

“युवाहरू जागे देश जाग्छ, युवाहरू अघि बढे विकास तीव्र हुन्छ,” भन्दै उनले पार्टीको नीति, सिद्धान्त र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिन युवाहरूलाई आग्रह गरिन्। आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न युवाहरू निर्णायक शक्ति बन्नुपर्ने उनको भनाइ थियो।

भाषणभन्दा काममा विश्वास गर्ने पार्टी : सूर्य ढकाल

भेलालाई सम्बोधन गर्दै बाँके क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकालले एमाले भाषणभन्दा काममा विश्वास गर्ने पार्टी भएको बताए। उनले विगतमा एमाले नेतृत्वमा सम्पन्न विकास निर्माणका कार्यहरूको स्मरण गर्दै जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले युवाहरूको माग, आवश्यकता र आकांक्षाका आधारमा योजना निर्माण गरिने उल्लेख गर्दै आगामी स्थानीय तह निर्वाचनमा बाँके जिल्लाका ८१ वटै वडामा युवाहरूलाई जनप्रतिनिधिका रूपमा सहभागी गराउने लक्ष्य रहेको जानकारी दिए।

“प्रत्येक वडामा युवालाई नेतृत्वमा ल्याएर आफ्ना समस्या र मुद्दाहरू आफैं समाधान गर्न सक्ने वातावरण सिर्जना गर्नु हाम्रो लक्ष्य हो,” उनले भने। साथै उनले सामाजिक न्यायसहितको राज्य व्यवस्था निर्माण, लोकतन्त्रको सुदृढीकरण, राष्ट्रियताको संरक्षण तथा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। समाजमा विद्यमान बेरोजगारी, भ्रष्टाचार, अव्यवस्था र असमानताको अन्त्यका लागि सक्षम नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।

संगठन सुदृढीकरणमा जोड

पार्टीका जिल्ला अध्यक्ष निरक गुरुङले संगठन सुदृढीकरण, अनुशासन र एकतामै सफलता निहित रहेको धारणा व्यक्त गरे। उनले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रम र अफवाहप्रति सचेत रहन युवाहरूलाई आग्रह गर्दै तथ्य र उपलब्धिका आधारमा जनतामाझ जानुपर्ने बताए।

उनले ‘जेन्जी’ पुस्ताका युवाहरूलाई राजनीतिक चेतना र जिम्मेवारीका साथ अघि बढ्न आह्वान गर्दै एमाले नेतृत्वमा मात्रै स्थिर सरकार र दिगो विकास सम्भव रहेको दाबी गरे।

उल्लेखनीय उपस्थिति
राष्ट्रिय युवा संघ नेपाल बाँके इन्चार्ज सन्दिन बनियाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वर्षा मल्ल, राष्ट्रिय युवा संघ बाँकेका जिल्ला अध्यक्ष ज्ञानु ओली, बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देवेन्द्र बुढा, क्षेत्रीय कमिटी सदस्य टोपराज जैसी, राजु तामाङ, जिल्ला कमिटी सदस्य एवं युवा फोर्स इन्चार्ज उमेश शाहीलगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन युवा संघ बाँकेका उपाध्यक्ष रमेश मिजारले गरेका थिए भने भेलामा युवाहरूको उत्साह, संगठनात्मक एकता र आगामी निर्वाचन केन्द्रित रणनीतिसहित सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्