देश बनाउने अभियानलाई तीव्रता : बाँके–१ मा सूर्य ढकालको सक्रिय चुनावी दौड – Buletnews
देश बनाउने अभियानलाई तीव्रता : बाँके–१ मा सूर्य ढकालको सक्रिय चुनावी दौड

युवापुस्ताको विदेश पलायन रोक्न स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने

  • बुलेट न्युज

बाँके:  सूर्य ढकालले “देश जलाउने होइन, देश बनाउने अभियान जारी छ” भन्ने नारासहित आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन्।
बाँकेको विभिन्न गाउँ–टोलमा आयोजित घरदैलो तथा कोणसभामा बोल्दै ढकालले देशमा देखिएको अस्थिरता, निराशा र विभाजनकारी राजनीतिलाई अन्त्य गर्दै विकास, सुशासन र समृद्धिको दिशामा अघि बढ्न आवश्यक रहेको बताएका छन्। उनले एमाले नेतृत्वमा अघि बढाइएका पूर्वाधार विकास, रोजगारी सृजना र सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे।

ढकालले युवापुस्ताको विदेश पलायन रोक्न स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। कृषि, साना तथा मझौला उद्योग, पर्यटन र सीमावर्ती व्यापारको सम्भावनालाई व्यवस्थित गर्दै बाँकेलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने आफ्नो योजना रहेको उनले बताए।

उनका अनुसार देशलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने गतिविधिले समृद्धि सम्भव हुँदैन। “हामी विध्वंस होइन, निर्माणको पक्षमा छौं। जनताको विश्वासलाई विकासमा रूपान्तरण गर्नु नै हाम्रो मुख्य लक्ष्य हो,” उनले भने।

चुनावी अभियानका क्रममा एमालेका स्थानीय नेता–कार्यकर्ताले पार्टीको संगठन सुदृढ रहेको दाबी गरेका छन्। विगतका निर्वाचनमा प्राप्त मत परिणाम र जनस्तरको समर्थनलाई आधार मानेर यसपटक बाँके–१ मा विजयी हुने विश्वास व्यक्त गरिएको छ।

बाँके–१ मा विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिए पनि एमालेले विकास र राजनीतिक स्थायित्वलाई केन्द्रमा राखेर प्रचार–प्रसार अघि बढाएको छ। मतदातासँग प्रत्यक्ष संवाद गर्दै ढकालले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र खानेपानीजस्ता आधारभूत सेवामा सुधार गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।
आगामी निर्वाचनलाई विकास र स्थायित्वको जनमतका रूपमा व्याख्या गर्दै ढकालले मतदातालाई देश निर्माणको अभियानमा साथ दिन अपिल गरेका समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्