कोलोम्बोमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो। न्युजिल्यान्डले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो।
श्रीलंकाका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए। दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ तथा पवन रत्नायकेले १० रन बनाए।
न्युजिल्यान्डका रचिन रविन्द्रले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए । म्याट हेनरीले २ ओभरमा १ मेडनसहित ३ रन मात्र दिएर २ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। कप्तान मिचेल सान्टनर र कोल म्याककन्कीले ८४ रनको साझेदारी गरे। सान्टनरले २६ बलमा ४७ रन बनाए।
रचिन रविन्द्रले ३२ तथा फिन एलेनले २८ रन बनाए । ग्लेन फिलिप्सले १८ रन जोडे। श्रीलंकाका लागि महीश थीक्ष्णा र दुष्मन्थ चमीरा ले ३–३ तथा दुनिथ वेलालगेले १ विकेट लिए। यसअघि श्रीलंका इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । लगातार दुई हारपछि समूह २ मा रहेको श्रीलंका अङ्कविहीन छ।
सन् २०१४ मा टी–२० विश्वकप जितेपछि श्रीलंका अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छैन। पहिलो जीत निकालेको न्युजिल्यान्ड ३ अङ्कसहित समूह २ को दोस्रो स्थानमा छ। न्युजिल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना कायम छ। दुवै खेल जितेर ४ अङ्क जोडेको इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ र सेमिफाइनलमा पुगिसकेको छ।
अब न्युजिल्यान्डले अन्तिम खेल भोलि इङ्ग्ल्यान्डसँग खेल्नेछ। भोलिको खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनल पुग्नेछ ।
विश्वकपअन्तर्गत आज दिउँसो सवा ३ बजे वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच खेल हुनेछ। यो खेल भारतको अहमदाबादमा हुनेछ।
यस्तै आजको दोस्रो खेल बेलुकी सवा ७ बजे भारत र जिम्बाब्वेबीच भारतको चेन्नईमा हुनेछ।











